सहसचिवद्वारा रोल्पाको बजार अनुगमन

Posted on: 09 Nov, 2016

कात्तिक २४, रोल्पा । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले कृषकको चाहना, भौगोलिक अवस्था र सरकारले निर्धारित गरेको लक्ष्यअनुसार पशुजन्य वस्तु उत्पादकत्वमा वृद्धि ल्याई कृषकलाइ आत्मनिर्भर बनाउन जिल्ला पशुसेवा कार्यालय रोल्पालाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार लिवाङ नगरपालिकाभित्र रहेका डेरी पसल, बधस्थल र मासुपसलको निरीक्षणका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । यसैबीच, पौडेलले रोल्पा जिल्लामा अल्लोबाट बनाइएका विभिन्न किसिमका तयारी वस्तु, पनिर, खुवा, छुर्पी, राँगा तथा भैँसीको छालाबाट तयार पारिएको डोकोको अवलोकन गर्नुभएको थियो । 

यसैबीच, उहाँले पशुसेवा कार्यालयमार्फत बजारमा बिक्रीमा राखिएका तयारी वस्तुको गुणस्तरबारे पनि जानकारी लिनुभएको थियो । अनुगमनका क्रममा भूषण टे«डर्स रोल्पाका सञ्चालक टङ्कबहादुर वुढाले आफूले तयार गरेको छालाको डोको कास्की जिल्लाको पोखरा, काठमाडौँमा सञ्चालित इँटा भट्टाबाट अग्रिम माग आउने गरेको र आफूले सो डोका तयार पारी प्रतिडोको रु एक हजार सम्ममा बिक्री गर्दै आएको जानकारी दिनुभयो । मासुलगायत डोकोको कारोबार वाषर््िाक ७८ लाख सम्मको हुने गरेको र पाँचजना व्यक्तिले दैनिक रोजगार पाएको पनि उहाँले जानकारी दिनुभयो । 

यसैगरी, अनुगमनका क्रममा जंकोट गाविसका आमा समूह, कृषक पाठशाला र निक्षेपित कार्यक्रमअन्तर्गत रहेका किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका सहभागी महिला कृषकले जिल्ला पशु सेवा कार्यालयद्वारा प्रदान गरिएको सेवाको प्रशंसा गरेका थिए । उनीहरुले उक्त क्षेत्र बाख्रा, कुखुरा, माछा र बङ्गुरपालनमा अगाडि रहेको र प्रत्येक वर्ष कृषकले पशुपालन व्यवसायबाट ५० देखि ८० हजार रुपैयाँसम्म आयआर्जन गर्ने गरेको बताएका थिए । 

यसैबीच सहसचिव पौडेलसँग किसानले निःशुल्क औषधिको माग राखेका थिए । केही औषधि निःशुल्क उपलब्ध गराउने नीति रहेको र सम्बन्धित कार्यालयबाट प्रदान गर्दै आएको जानकारी उहाँले दिनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!