१४.२ किलोभन्दा बढी तौलको ग्यास बिक्री गर्नेमाथि कारबाही गर्ने आयल निगमको चेतावनी

Posted on: 21 Sep, 2023

असोज ४, काठमाडौँ | नेपाल आयल निगमले १४.२ किलोभन्दा बढीको ग्यास बिक्री गरिरहेको कुरा सार्वजनिक भएको भन्दै यस्तो गर्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही ग्यास उद्योगहरुले १४.२ किलो क्षमताकाभन्दा बढी जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमासमेत एलपी ग्यास भरी बिक्री वितरण गरेको भन्दै उनीहरुमाथि कारबाही गर्ने चेतावनी दिएको हो।

निगमसँग आबद्ध केही ग्यास उद्योगहरुले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेकोमा निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित)का अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको प्रष्ट पारेको छ।

निगमले अनुमति नदिएको अवस्थामा १४.२ किलोभन्दा बढी जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न भनेको छ।

‘निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) बमोजिम कारबाही हुने व्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराइन्छ,’ निगमको सुचनामा भनिएको छ, ‘साथै १४.२ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरहरुको प्रयोग गर्नु गैरकानुनी भएको हुँदा त्यस्ता सिलिण्डरहरुको प्रयोग नगर्नु हुन आम उपभोक्तालाई समेत अनुरोध गरिन्छ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!