अबको दुई महिनामा विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

Posted on: 15 Feb, 2023

एजेन्सी | अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतमा ठ्याक्कै कति जनसंख्या छ छ भनेर एक वर्षसम्म पनि थाहा नहुने सम्भावना रहेको बताएको छ । आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ । सन् २०२१ मा भएको चीनको सातौँ राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड रहेको छ ।

विपक्षी दल कंग्रेसले सरकारले आफ्ना असक्षमतालाई लुकाउन पनि जनगणनामा ढिलाइ गरेको आरोप लगाएको छ । बेरोजगारीजस्ता राजनीतिक रूपमा संवेदनशील मानिएका विषयवस्तुका तथ्यांक सन् २०२४ को लोकसभा चुनावअघि बाहिर नआओस् भन्ने सत्तारुढ बीजेपीको चाहना रहेको कंग्रेसको आरोप छ ।

सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड रहेको छ । त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्या बराबर हो । भारतीय विशिष्ट पहिचान प्राधिकरण(यूआईडीएआई) का अनुसार २०२२ को डिसेम्बर ३१ सम्म १ अर्ब ३० करोड मानिस आधार कार्डका लागि दर्ता भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!