तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि पुरुषले गरे सम्बन्धविच्छेद

Posted on: 20 Mar, 2024

एजेन्सी | केही समयअघि चीनमा एउटा हाइप्रोफाइल सम्बन्धविच्छेदको घटना बहसको केन्द्रबिन्दु बनेको थियो । एक पुरुषले तीनवटा सन्तान आफ्नो नभएको थाहा पाएपछि विवाहको १६ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।

सन् २००७ मा चेन सिनजियानले यू हुवासँग विवाह गरेका थिए । यू हुवा चेनभन्दा ८ वर्षले कान्छी थिइन् । उनी हर्दा सोझो र मिलनसार थिइन् । त्यसैले पहिलो भेटमा नै चेनले उनीसँग विवाह गर्ने निधो गरे । किनभने यता परिवारबाट पनि उनलाई विवाहको दबाब आइरहेको थियो ।

विवाहको केही समयपछि नै यूले आफू गर्भवती भएको जानकारी दिइन् । आफू बुबा बन्न लागेकोमा चेन निकै खुसी थिए । खुसीयालीमा उनले यो कुरा बिर्सिए कि हुवाले बच्चा पाउँदाको समय गणना गर्ने हो भने उनी विवाह अघि नै गर्भवती भएको हुनुपर्थ्यो । 


यूले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन् । यता चेन लामो दुरीको सवारी चालक बने । उनी लामो समय घर बाहिर नै रहन थाले । उनी बेला–बेला छोटो समयका लागि मात्र सियान्सी प्रान्तमा रहेको आफ्नो घरमा पुग्थे ।

यसरी नै समय बित्दै गयो । केही समयपछि यूले अर्की छोरीलाई जन्म दिइन् । यति बेलासम्म चेन आफ्नो पत्नीको विवाहेतर सम्बन्धको बारेमा अनभिज्ञ थिए ।

सन् २०१९ मा जब यूले आफू तेस्रोपटक गर्भवती भएको बताइन्, त्यतिबेला मात्र उनलाई यसबारे शङ्का भयो । किनभने उनी गर्भवती भएको समयमा चेन घर आएका थिएनन् । उनले पत्नीसँग यस विषयमा विवाद पनि गरे तर यूले त्यो बच्चा चेनकै भएको भन्दै सम्झाउन खोजिन् । 

यसपटक पनि चेनले पत्नीको कुरा पत्याउँदै छोरीलाई अपनाए । सन् २०२२ को नोभेम्बर यूले अस्पतालमा चौथो छोरीलाई जन्म दिएपछि मात्र चेन आफ्नो पत्नीको सम्बन्धको बारेमा पक्का भए ।

उनले यसपटक पत्नीसँग सल्लाह गर्नुका साटो वकिललाई साथमा लिएर अस्पतालमा छानबिन गर्न गए । त्यहाँ उनले बच्चालाई जन्म दिँदा पतिको नाममा आफ्नो उल्लेख भए पनि नक्कली हस्ताक्षर गरेको पाए । आफूमाथि धोका भएको थाहा पाएपछि उनले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै बच्चा आफ्नो हो कि होइन भन्ने परीक्षण गर्न माग गरे । परीक्षणमा कुनै पनि सन्तान उनको नभएको पुष्टि भयो । उनले अदालतसमक्ष आफूले पाएको मानसिक तनावका लागि क्षतिपूर्तिसमेत माग गरे ।

यो घटना लामो समय चीनमा चर्चाको विषय बनेको थियो । दुवै पक्षका समर्थक र आलोचक थिए । सन् २०२३ को डिसेम्बर २९ मा अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसाल सुनाउँदै चेनलाई दुई ठुली छोरीको अभिभावकत्व प्रदान गरेको थियो । उता पत्नीलाई विवाहपछिको सम्पत्तिमा दाबी नगर्न र मासिकरुपमा पूर्व पतिलाई रकम प्रदान गर्न भनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!