५३ वर्षीय पुरुषको घाँटीभित्र भेटियो ६ सेन्टिमिटर लामो जुका, कसरी पस्यो ?

Posted on: 12 Mar, 2024

एजेन्सी | भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।  


शुरुमा ती पुरुष आफैंले मुख बाएर के भएछ भन्ने पत्ता लगाउने कोसिस गरे । घाँटीको माथिल्लो हिस्सामा खैरो वस्तु टाँसिएको देखेपछि आत्तिएर उनी तत्कालै अस्पतालमा गए । हानोईको नेशनल हस्पिटल अफ इन्डोक्रिनोलोजीमा पुगेर उनले घाँटीमा अप्ठ्यारो भएको अनि बेला बेलामा थुकमा रगत आइरहेको बताए । इन्डोस्कोपी गर्दा घाँटीमा जुका टाँसिएको डाक्टरले देखे ।

एक महिना अघि मुसाको थाप्ने पासो चलाउने क्रममा ती पुरुषलाई चोट लागेको थियो । जडीबुटीको प्रयोगमा विश्वास गर्ने ती पुरुषले घरबाहिर गएर जडीबुटी टिपेर मुखमा हाले अनि चपाएर मसिनो बनाएर घाउमा लगाए । उनको हात त निको भयो । तर नपखालेको पात मुखमा हाल्दा मसिनो जुका मुखभित्र छिर्‍यो । यस्तो खालको घटना दुर्लभ सुन्ने गरिन्छ । सन् २०१९ मा भियतनाममै अर्का एक पुरुषको घाँटीमा पनि जुका टाँसिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!