पाकिस्तानी संसदीय चुनाव : इमरान खानसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | पाकिस्तानको संसदीय(नेसनल एसेम्बली) को चुनावको  प्रारम्भिक नतिजामा इमरान खानको पाकिस्तान तहरिक-ए इन्साफ(पीटीआई) समर्थित उम्मेदवार अगाडि देखिएका छन् । खान र पीटीआईमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइए पनि पीटीआईसमर्थित उम्मेदवार अगाडि देखिएका हुन् । 


पाकिस्तान चुनाव आयोगकै वेबसाइटमा देखाइएको नतिजाअनुसार अहिलेसम्म २४ सिटमा पीटीआईसमर्थित स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । त्यस्तै बिलाबल भुट्टोको पाकिस्तान पिपल्स पार्टी(पीपीपी) २४ सिटमा अगाडि हुँदा पाकिस्तान मुस्लिम लिग(नवाज) भने १८ सिटमा अगाडि रहेको छ ।

अहिलेसम्म ६७ सिटको चुनावी नतिजा घोषणा भएको छ । १९५ सिटको नतिजा भने आउन बाँकी छ । पाकिस्तानको संसद् ३३६ सिटको छ । जसमध्ये २६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । पाकिस्तानमा सरकार बनाउनका लागि १३४ सांसद आवश्यक पर्छ । ७० सिट भने समानुपातिक प्रणालीबाट चुनिन्छ । त्यसमध्ये १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ । ६० सिट भने महिलाका लागि छुट्याइएको छ ।

बिहीबार सम्पन्न चुनाव निष्पक्ष नभएको पीटीआईले जनाएको छ । चुनावपछि पनि चुनाव आयोगले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको र फेरबदल गरिरहेको उसको आरोप छ । पीटीआईले चुनाव आयोगबाट सार्वजनिक नतिजामै धाँधली भएको प्रमाणित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । केही पोस्टमा सार्वजनिक गरिएको चुनावी नतिजामा कुल खसेको मतभन्दा सदर मत बढीसमेत देखिएको छ ।

पीटीआईले प्रान्तीय चुनावमा पनि आफ्नो जित भएको दाबी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!