परिवारसँग पैसा धुत्न अपहरणको नाटक, प्रहरीले खोज्दा होटलमा लागूऔषधको नसामा धुत भेटिए

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक पुरुषले पैसाको जोहो गर्न अनौठो तरिका अपनाएका छन् । बैंकक घुमफिर गर्दागर्दै रबी डे नाम गरेका ती पुरुषले साथमा भएको सारा पैसा सके । हुन त रमाइलो गरिरहेको बेलामा समय र पैसा कति बेला सकिसक्छ भन्ने उनले पत्तो पाएनन् होला । घरपरिवारसँग पैसा मागे ।

तर मोजमस्ती गर्न र पार्टी गर्नकै लागि भनेर परिवारले पैसा पठाउन मानेन । डेसँग स्वदेश फर्कन वा पैसाको जोहो गर्नु पर्ने दुई विकल्प मात्रै थियो । सोझो तरिकाले पैसा नआउने देखेपछि उनले तिकडम गरे । 

आफूसँगै थाइल्यान्ड घुम्न आएका साथीलाई मास्क लगाएर आफूलाई पिट्न लगाए । अनुहारभरि कुटपिटको दाग भएको फोटो खिचाए । आफ्नो अपहरणको झुठो नाटक गरे अनि परिवारसँग फिरौती मागे । अपहरणको नाटकलाई वास्तविक देखाउन उनका केही साथीहरु  मुख छोपेर अपहरणकारी बने ।

डे अपहरणमा परेको खबर सुनेपछि परिवारले प्रहरीकहाँ उजुरी गरिदिए । इन्टरपोलले पीडितलाई खोज्न थाल्यो । पट्टायाको एक होटलमा पीडित हुन सक्ने थाहा भयो । इन्टरपोलले स्ट्राइक टिमको साथमा उक्त होटलमा आए । तर होटलको कोठामा रक्सी र लागू औषधको नसामा धुत डे भेटिए । प्रहरीले डेलाई जनवरी २६ मा फेला पारेको थियो । होटलको कोठामा उनको साथमा अरु तीन जना विदेशीहरु पनि थिए । प्रहरीले चारै जनालाई अनधिकृत हतियार राखेको, साथमा लागू औषध भेटिएको र भिसाको म्याद गुज्रिएपछि पनि बसेको आरोपमा पक्राउ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!