सरकारले तलब कम दिएको भन्दै पपुवा न्यू गिनीमा हिंसात्मक प्रदर्शन, १५ जनाको मृत्यु

Posted on: 12 Jan, 2024

एजेन्सी | सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ । करिब २५ जना गम्भीर घाइते भएका छन् ।

दंगा भड्किएपछि प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेका छन् ।

प्रहरी र अन्य सरकारी कर्मचारीहरुको पछिल्लो तलब ५० प्रतिशतसम्म घटेर आएको थाहा पाएपछि बुधबार संसद बाहिर विरोध प्रदर्शन सुरु भएको थियो ।


तर प्रधानमन्त्री मारापेले भने कम्प्युटरमा भएको टाइपिङ मेस्टेकका कारण एक सय डलरसम्म कम तलब गएको स्वीकार गर्दै अर्को महिनाको भुक्तानीमा त्यो त्रुटीलाई सच्याइने बताएका छन् । साथै कानुन तोड्दा परिणाम प्राप्त नहुने भन्दै उनले अराजकता सह्य नहुने बताएका छन् ।

गत बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले गरेको प्रदर्शनले उग्ररुप लिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली समेत चलाउनु पर्यो ।

राजधानीबाट करिब ३०० किलोमिटर उत्तरतर्फ टाढा रहेको लाए सहरमा दंगा भड्किएको र कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी आयुक्त डेभिड म्यानिङले पुष्टि गरेका छन् । पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरिरहेको जनाएको छ ।

भिडियो फुटेजमा राजधानीका पसलहरूमा लुटपाट भएको, भवन र कारहरूमा आगजनी भएको देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!