इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको हमासका नेताको भनाई

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | हमासका नेता इस्माइल हानियाले आफ्नो समूह इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको बताएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा हमासले यसबारे कतारलाई आफ्नो प्रतिक्रिया दिइसकेको बताइएको छ ।

कतारले दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । हानिया कतारमा नै बस्छन् । अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष पनि हाल कतार भ्रमणमा छन् ।  बयान जारी गर्नअघि हानियाले दोहामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अध्यक्षसँग भेट गरेका थिए । गत महिना रिहा भएका चार बन्धकहरूलाई रिहा गर्न आईसीआरसीले भूमिका खेलेको थियो।


इजरायल र हमासबिच करिब ६ हप्तादेखि युद्ध चलिरहेको छ । यो अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । हमासका लडाकुहरूले २०० भन्दा बढी इजरायलीहरूलाई बन्धक बनाएर लगेका थिए। त्यसपछि इजरायलले गाजामा बमबारी गर्न थाल्यो । इजरायलको सेनाले विगत केही दिनदेखि स्थल कारबाही गरिरहेको छ ।

रिपोर्टका अनुसार सम्झौता अन्तर्गत हमासले बन्धक बनाएका केही इजरायलीलाई रिहा गर्न सक्नेछ । बदलामा, इजरायलले गाजामा आफ्नो अभियानहरू रोक्न सक्छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूको रिहाइसम्बन्धी सम्झौता पूरा हुने सङ्केत गरेका थिए। हमासका अधिकारीहरूले अलजजिरा न्युज नेटवर्कलाई सम्झौताबारे छलफल भइरहेको बताएका छन्।  यसबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!