रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, फेसबुकलाई पत्र

Posted on: 12 Nov, 2023

कार्तिक २६, काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा प्रहरीले फेसबुक र इन्ष्टाग्रामको मालिक कम्पनी मेटालाई सामाजिक सञ्जालमा अभिनेत्रीको डिपफेक भिडियो शेयर गर्ने एकाउन्टको यूआरएल (युनिफर्म रिर्सोस लोकेटर) माग्दै पत्र पनि पठाएको छ ।


दिल्ली प्रहरीले सामाजिक सञ्जालमा नक्कली भिडियो शेयर गर्ने मानिसहरूको पन जानकारी मागेको छ । रश्मिका मन्दनाको भिडियोमा छेडखाडी मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । नोभेम्बर ६ मा रश्मिका मन्दनाको डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो भिडियोमा रश्मिका जस्तै देखिने युवति लिफ्टभित्रै जाँदै गरेकी देखिन्छिन् । तर ती युवति रश्मिका नभएर जारा पटेल नाम गरेकी युवति थिइन् । एआईद्वारा युवतिको अनुहारमा रश्मिकाको अनुहार हालिएको थियो ।

डिपफेक भिडियो भाइरल भएपछि रश्मिकाले प्रविधिको दुरुपयोगले खतरा बढाएको अनि यो आफ्ना लागि मात्रै नभएर सबैका लागि निकै डरलाग्दो स्थिति भएको बताएकी थिइन् । भिडियो आएको भोलिपल्ट जारा पटेलले  पनि प्रतिक्रिया दिएकी थिइन् । यो भिडियोमा आफ्नो कुनै हात नभएको अनि यस घटनाले आफू पनि डिस्टर्ब भएको उनको भनाइ थियो । यस मामिलामा बलिउडका बिग बि अभिताभ बच्चनदेखि दक्षिण भारतका चर्चित हिरो नागा चैतन्यसम्म कयौँ कलाकार रश्मिकाका समर्थन आएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!