हमासद्वारा पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक

Posted on: 17 Oct, 2023

असोज ३०, काठमाडौँ | हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेकाहरूको भिडियो सार्वजनिक गरेको छ। अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो। 

हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम भएको, आफू २१ वर्षको र इजरायलको शोहम सहरको बासिन्दा रहेको बताएकी छिन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनको भनाई छ । उनले भिडियोमा आफ्नो रिहाइको लागि अपिल गरेकी छन् ।


भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ। एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ। सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौँ।’

बीबीसीले सामान्यतया बन्धकहरूको फोटो वा भिडियोहरू प्रसारण गर्दैन, तर माया शेमको परिवारले फोटोहरू देखाउन सहमति जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!