गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर गएका छन्’ : चीन

Posted on: 15 Oct, 2023

असोज २८, बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । 

इजराइलले गाजामा  हमास लडाकूहरूमाथि जमिन आक्रमण गर्ने तयारी गरेको देखिएका बेला विदेशमन्त्री वाङले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेका हुन् ।

“इजराइलको कदम आत्मरक्षाका दायराभन्दा बाहिर गएका छन्”, वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।” वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो । 

उत्तरी गाजामा रहेको १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय सङ्कट निम्तिनने भन्दै सहायताकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!