इजरायल-हमास युद्धमा चर्चा पाएको ह्वाइट फोस्फोरस के हो ?

Posted on: 15 Oct, 2023

एजेन्सी | गाजा क्षेत्रमा इजरायलको बमबारी जारी छ । इजरायली सेनाका अनुसार उसले गाजा क्षेत्रमा पछिल्लो पाँच दिनमा करिब ६ हजार वटा बम खसालेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले गाजा र लेबनानमा हमास तथा हेजबुल्लाहविरुद्धको आफ्नो सैन्य कारबाहीमा इजरायलले ह्वाइट फोस्फोरसको प्रयोग गरिरहेको जनाएको छ । यस्तो खालका हतियारहरुको प्रयोगले मानिसहरुलाई गम्भीर चोट पुर्याइरहेको पनि ह्युमन राइट्स वाचको भनाइ छ ।

संसारको सबैभन्दा घनाबस्ती भएको क्षेत्रमध्येको एक गाजापट्टीमा ह्वाइट फोस्फोरसको प्रयोगले नागरिकहरुमा जोखिम बढाउने र यो अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन रहेको मानव अधिकारवादी संस्थाले जनाएको छ ।


न्यूज एजेन्सी रोयटर्सका अनुसार इजरायली सेनाले भने गाजा क्षेत्रमा ह्वाइट फोस्फोरसयुक्त हतियारको प्रयोग गरेको विषयमा कुनै जानकारी नरहेको जनाएको छ ।

साथै लेबनानमा यस्ता हतियारको प्रयोगका विषयमा चाहिं इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन ।

ह्युमन राइट्स वाचले भने गत अक्टोबर १० मा लेबनान तथा अक्टोबर ११ मा गाजा क्षेत्रबाट लिइएका भिडियोलाई प्रमाणीकरण गरेको र त्यसमा गाजा पोर्ट अनि इजरायल लेबनान सीमा नजिकैका दुईवटा ग्रामीण इलाकामा तोपखानाबाट दागिएका ह्वाइट फोस्फोरसका विभिन्न हवाई विस्फोट देखिएको जनाएको छ ।

ह्युमन राइट्स वाचका मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रीय निर्देशक लामा फकिह भन्छन्, ‘जब सर्वसाधारण नागरिकहरुको भिडभाडयुक्त क्षेत्रमा ह्वाइट फोस्फोरसको प्रयोग हुन्छ यसले गम्भीर जलन तथा आजीवन पीडाको खतरा रहन्छ ।’

सन् २०१३ मा इजरायली सेनाले युद्ध मैदानमा स्मोकस्क्रिन बनाउनका लागि ह्वाइट फोस्फोरसयुक्त गोलाबारीको प्रयोग बन्द गर्न लागेको जनाएको थियो ।

गोलीहरुमा ग्यासको प्रयोग गरी स्मोकस्क्रिनको प्रभाव पैदा गरिने उसले जनाएको थियो । त्यसबेला पनि मानवअधिकारवादी समूहहरुले गाजा संघर्षका बेला इजरायलले ह्वाइट फेास्फोरसको प्रयोग गरेको घटनाको निन्दा गरेका थिए ।

के हो ह्वाइट फोस्फोरस ?

ह्वाइट फोस्फोरस आफ्ना ज्वलनशील गुणका लागि चिनिन्छ । यो एक रासायनिक पदार्थ हो जुन अक्सिजनको सम्पर्कमा आएसँगै प्रज्वलित हुन्छ । यसको प्रयोग तोपखानाहरुमा गोली, बम तथा रकेटमा गरिन्छ ।

एकपटक जब ह्वाइट फोस्फोरस अक्सिजनको सम्पर्कमा आउँछ तब रासायनिक प्रतिक्रियाबाट ८१५ डिग्री सेल्सियससम्मको तापक्रम पैदा गर्दछ ।

अक्सिजनको सम्पर्कमा आएसँगै ह्वाइट फोस्फोरस प्रज्वलित हुँदा प्रकाश तथा गाढा धुवाँ पैदा हुन्छ, जसको प्रयोग सैन्य कारवाहीहरुमा गरिन्छ । तर जब ह्वाइट फोस्फोरस मानिसको सम्पर्कमा आउँछ तब भयानक चोट पुर्‍याउँछ । यो विनाशकारी आगोको कारण बन्न सक्दछ र भवन, अन्य भौतिक संरचनालाई नष्ट गरेर व्यापक क्षति पुर्‍याउन सक्दछ ।

कसरी गरिन्छ ह्वाइट फोस्फोरसको प्रयोग ?

धेरैजसो जमिनबाट सञ्चालन हुने सैन्य अभियानहरुलाई लुकाउने उद्देश्यले ह्वाइट फोस्फोरसको प्रयोग गरिन्छ । ह्वाइट फोस्फोरसको प्रयोगबाट सेनाले धुवाँको पर्दा तयार गरेर आफ्ना गतिविधिहरु लुकाउने कोसिस गर्दछ ।

ह्वाइट फोस्फोरसले इन्फ्रारेड अप्टिक्स तथा हतियार ट्रयाकिंग प्रणालीमा पनि हस्तक्षेप गर्दछ र सैन्य बलहरुलाई एन्टी ट्यांक मिसाइल जस्ता निर्देश हतियारबाट समेत बचाउँछ ।

जमीनमा हुने विस्फोटको तुलनामा हवाई विस्फोटका बेला ह्वाइट फोस्फोरसले निकै धेरै क्षेत्र ओगट्छ र ठूला खालका सैन्य गतिविधिहरुलाई समेत लुकाउन सहयोग गर्दछ ।

गाजा जस्ता घना आवासयुक्त क्षेत्रमा हावामा ह्वाइट फोस्फोरसको विस्फोटले त्यहाँ बस्ने मानिसहरुका लागि जोखिम बढाउँछ ।

ह्वाइट फोस्फोरसको प्रयोग आगो लगाउने हतियारको रुपमा पनि गर्न सकिन्छ । सन् २००४ मा इराकमा फालुजाको दोस्रो युद्धका क्रममा लुकेका लडाकुहरुलाई बाहिर निकाल्नका लागि ह्वाइट फोस्फोरसको प्रयोग भएको थियो ।

ह्वाइट फोस्फोरसले कति नोक्सान र्‍याउँछ ?

ह्वाइट फोस्फोरसको सम्पर्कमा आउँदा मानिसमा गम्भीर जलन महसुस हुनछ र यस्तो जलन प्रायः हड्डीसम्मै पुग्न सक्छ । यस्तो जलनबाट बनेका घाउहरु निको हुनमा समय लाग्छ र त्यसमा संक्रमण हुने सम्भावना पनि हुनछ ।

यदि मानव शरीरको केवल १० प्रतिशत हिस्सामा मात्र पनि ह्वाइट फोस्फोरसको जलनको कारणले घाउ भयो भने त्यो प्राणघातक हुनसक्छ । यसको सम्पर्कमा आउँदा मानिसहरुमा श्वास लिनमा समस्या हुनुका साथै शरीरका विभिन्न अंगहरुले काम गर्न छाड्ने जोखिम हुनसक्छ ।

ह्वाइट फोस्फोरसको कारणले घाइते बनेका मानिसहरुले उक्त घाउका कारण आफ्नो बाँकी जीवनभर पीडा सहनुपर्दछ र उनीहरु हिँडडुल गर्न समस्या हुनुका साथै शरीरमा लागेका घाउका दागहरुले मनोवैज्ञानिक अवस्थामा पनि नराम्रो असर पार्दछ ।

ह्वाइट फोस्फोरसका कारणले लाग्ने आगोले घर तथा भवनहरुलाई पनि नोक्सान पुर्‍याउनुका साथै खाद्यान्न सखाप पार्ने र पशुधनमा समेत क्षति पुर्‍याउन सक्दछ ।

ह्वाइट फोस्फोरसका बारेमा कानूनी तथा नैतिक चिन्ता

सशस्त्र संघर्षहरुमा ह्वाइट फोस्फोरसको प्रयोगको विषय विभिन्न अन्तर्राष्ट्रिय कानूनको अधीनमा छ । पारम्परिक हतियारसम्बन्धी महासन्धीको प्रोटोकल अनुसार आम नागरिकहरुको बसोबास रहेको क्षेत्रमा आगो लगाउने हतियारको रुमा ह्वाइट फोस्फोरसको प्रयोग प्रतिबन्धित छ ।

प्रोटोकल अनुसार यसको प्रयोग केवल अन्तर्राष्ट्रिय मानवीय कानूनका सिद्धान्त अनुरुप सिग्नलिङ, स्क्रिनिङ तथा मार्किङका लागि गर्न सकिन्छ ।

हमास इजरायल युद्धले पुनः सशस्त्र संघर्षमा ह्वाइट फोस्फोरसको प्रयोगका विषयमा एक महत्वपूर्ण बहस पैदा गरेको छ ।

आम नागरिक तथा पर्यावरणमा पर्ने नोक्सानीलाई कम गर्नका लागि कडा नियम तथा अधिक निगरानीको माग समेत भैरहेको छ ।

सशस्त्र संघर्षका बेला नागरिक तथा पर्यावरण दुवैलाई क्षति पुर्‍याउने प्रभावलाई कम गर्नका लागि ह्वाइट फोस्फोरसयुक्त हतियारहरुको प्रयोग गर्दा आवश्यक सावधानी तथा अन्तर्राष्ट्रिय मानवीय कानून र महासन्धीहरुको पालना निकै महत्वपूर्ण छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!