विश्वकपमा श्रीलंकाविरुद्ध रिजवानले बनाएको रन गाजाका नागरिकप्रति समर्पण

Posted on: 11 Oct, 2023

असोज २४, काठमाडौँ | पाकिस्तानी टोलीका ब्याट्सम्यान मोहम्मद रिजवानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबा श्रीलंकाविरुद्ध आफूले बनाएको रन र आफ्नो टोलीले हासिल गरेको जितलाई गाजाका नागरिकप्रति समर्पित गरेका छन् । 

विकेटकिपर ब्याट्सम्यान रिजवानले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘मेलै बनाएको रन र पाकिस्तानी टोलीको जित गाजामा रहेका हाम्रा दाजुभाई—दिदीबहिनीप्रति समर्पित गर्न चाहन्छु । यो जित उनीहरुप्रति समर्पित गर्न पाउँदा निकै खुसी लागेको छ । यसको श्रेय टोलीका सबै सदस्यलाई जान्छ । तर, यसमा सबैभन्दा ठूलो योगदान अब्दुल्लाह सफिक र हसन अलीको छ ।’


उनले हैदराबादका नागरिक र क्रिकेट समर्थकलाई पनि धन्यवाद दिएका छन् । पाकिस्तान र श्रीलंकाबीचको खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा खेलिएको थियो । त्यो खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको थियो । ‘न्यायो आतिथ्य र समर्थनका लागि म हैदराबादका नागरिकप्रति पनि आभार व्यक्त गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भनेका छन् । 

तीन सय ४५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पाकिस्तानलाई महत्त्वपूर्ण जित दिलाउन रिजवानले अविजित एक सय ३१ रनको योगदान गरेका थिए । उनले एक सय २१ बलको सामना गरी तीन छक्का र आठ चौका हिर्काएका थिए ।

यसका अतिरिक्त पाकिस्तानलाई विजयी बनाउन ओपनर ब्याट्सम्यान अब्दुल्लाह सफिकले पनि एक सय १३ रनको योगदान गरेका थिए । उनले एक सय तीन बलको सामना गरी तीन छक्का र १० वटा चौका हिर्काएका थिए । हसन अलीले भने श्रीलंकाको चार विकेट लिएका थिए ।

गत शनिबार इजरायलमा भएको आक्रमणयता इजरायल—हमास द्वन्द्वमा परी एक हजार दुई सयजनाको मृत्यू भइसकेको छ । विगत ७५ वर्षयता इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । गाजामा पनि नौ सय जनाले ज्यान गुमाइसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!