पेयरा बन्दरगाह प्रयोग गर्न नेपाललाई बंगलादेशको अफर

Posted on: 27 Jul, 2023

साउन ११, काठमाडौँ | बंगलादेशले नेपाललाई आफ्नो पेयरा बन्दरगाह प्रयोग गर्न अफर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा भएको वार्तामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गरेकी हुन् ।

बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले प्रधानमन्त्री हसिनाको भनाई उद्धृत गर्दै भने, ‘बंगलादेशले नेपालका लागि चल्ना र चातोग्राम बन्दरगाह यसअघि नै खुला गरेको छ । नेपालले हालै निर्माण सम्पन्न पेयरा बन्दरगाह पनि प्रयोग गर्न सक्नेछ ।’ 

मोमेनका अनुसार प्रधानमन्त्री हसिनाले बंगलादेशले क्षेत्रीय कनेक्टिभिटी बढाउन सयैदपुर विमानस्थललाई विकास गरिरहेको पनि जानकारी गराएकी थिइन् । 

छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरेका थिए । उनले नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना रहेको जिकिर गरेका थिए ।

यस सन्दर्भमा प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् । बंगलादेशको सञ्चारमाध्यमअनुसार छलफलमा प्रधानमन्त्री दाहालले बंगालदेशमा पढ्नका लागि पुगेका नेपाली विद्यार्थीहरुको पनि चर्चा गरेका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!