नेपाल-भारत सीमामा समातिएको गोलभेँडाले भारतका चार भन्सार अधिकारी निलम्बित

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौं | पछिल्लो केही समययता भारतमा गोलभेँडाको मूल्य निकै आकासिएको छ । गोलभेँडाको मूल्य भारतको तुलनामा नेपालमा सस्तो छ । यस्तो स्थितिमा दुई देशबीचको खुला सिमानाको फाइदा उठाउँदै केही व्यापारीले नेपालबाट गैरकानूनी रूपमा गोलभेँडा भारत पुर्‍याउने गरेको बताइन्छ ।  

यसै क्रममा १९ दिनअघि नेपाल—भारत पश्चिम सिमानाकाबाट भारतीय सीमा बल (एसएसबी) ले ठूलो परिमाणमा गोलभेँडा नियन्त्रणमा लिएको थियो । अहिले त्यही गोलभेडाका कारण भारतको भन्सार विभागका चार जना कर्मचारीलाई निलम्बनको स्थितिसम्म पुर्‍याएको छ । 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार, भन्सार विभागका चार जना कर्मचारीलाई मङ्गलवार निलम्बन गरिएको हो । प्राप्त समाचार अनुसार, जुलाई ७ तारिखमा भारतको महाराजगन्ज प्रहरी र एसएसबीको संयुक्त टोलीले करिब चार लाख ८० हजार भारतीय रुपैयाँ बराबरको गोलभेँडा बरामद गरेको थियो । 

गोलभेँडा अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको समाचारमा जनाइएको छ । त्यसपछि प्रहरी र एसएसबीको संयुक्त टोलीले त्यो गोलभेँडा सम्बन्धित भन्सार कार्यालयलाई बुझाएको थियो ।

नियम अनुसार, यसरी बरामद गरिएको अवैध गोलभेँडा २४ घण्टाभित्र नष्ट गरिनु पर्ने थियो । भन्सार कार्यालयले पनि गोलभेँडा नष्ट गरिएको प्रतिवेदन तयार पारेको थियो । घटनाक्रम जुलाई ७ तारिखमा सुरु हुन्छ । महाराजगन्ज जिल्लाको प्रहरी र एसएसबीले गोलभेँडासहितको दुई वटा जिपलाई नियन्त्रणमा लिएको थियो । 

प्रत्येक जिपमा डेढ टन गोलभेँडा रहेको थियो । प्रहरी र एसएसबीको टोलीले जितसहित सबै गोलभेँडा भन्सार कार्यालयलाई बुझाएको थियो । भन्सार कार्यालयले पनि नियम अनुसार गोलभेँडा नष्ट गरिएको जानकारी माथिल्लो कार्यालयलाई पठाएको थियो । 

त्यसपछि जुलाई ८ तारिखमा पुनः डेढ टन गोलभेँडासहितको दुई वटा जिप नौतनवा क्षेत्रको सम्पथिया प्रहरीले पनि नियन्त्रणमा लियो । त्यसको जानकारी सम्पथिया प्रहरी पोष्टले आफ्ना माथिल्ला अधिकारीहरूलाई गराए । 

तर, जुलाई ७ तारिखमा नियन्त्रणमा लिइएको जिप र त्यसको एक दिनपछि जुलाई ८ तारिखमा नियन्त्रणमा लिइएको जिपको नम्बर र रजिस्ट्रेसन नम्बर एउटै पाइएपछि प्रहरी अधिकृतहरू आश्चर्यमा परेका थिए । ती दुवै जिपमा रहेको गोलभेँडाको परिमाण पनि बराबर थियो । 

जबकि भन्सारका कर्मचारीहरूले जुलाई ७ तारिखमा समातिएको जिप आफ्नो नियन्त्रणमा रहेको र गोलभेँडा नष्ट गरिसकिएको बताएको थियो । यो रहस्य खुलेपछि भन्सार विभागले आफू मातहतको भन्सार कार्यालयका चार जना कर्मचारीलाई निलम्बन गरेको हो । 

लखनउका भन्सार कमिस्नर आरती सक्सेनाले पनि भन्सार कार्यालयका चार जना कर्मचारीलाई निलम्बन गरिएको पुष्टि गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, निलम्बनमा पर्ने कर्मचारीमा विशाल मेहता, एस. एस. हैदर, आदित्य शर्मा र जितेन्द्र कुमार रहेका छन् । 

जुलाई ७ तारिखमा समातिएको गोलभेँडा २४ घण्टाभित्र नष्ट गर्नु पर्नेमा गोलभेँडासहितको जिप छाडेको हुनसक्ने अनुमानमा उनीहरुलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । उनीहरुले भने आफूहरूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । केही वरिष्ठ अधिकारीहरूले भने जुलाई ७ र जुलाई ८ तारिखमा समातिएको जिप फरक—फरक रहेको दाबी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!