भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

Posted on: 26 Jul, 2023

एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

यद्यपि, विपक्षी सांसदहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए । विपक्षीहरुले बैठकमा हो–हल्ला गरेपछि संसदको कारबाही दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरुले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘पहिला उहाँहरु मणिपुर मामिलामा छलफल चाहनुहुन्थ्यो, हामी त्यसमा तयार भयौँ, पछि उहाँहरुले नियमको मुद्दा उठाउनु भयो । अहिले फेरि नयाँ मुद्दाका रुपमा प्रधानमन्त्रीको जवाफ मागिरहनुभएको छ ।’

प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन । किनकि भारतको संसदमा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ । तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!