पौवा भञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माण

Posted on: 07 Aug, 2016

साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । 

रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । समितिको रु नौ लाख र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट २८ सय मिटर पदमार्ग निर्माण गरिएको हो । गत आव २०७२÷७३ मा पौवा, सुकेपोखरी हुँदै सैलुङ्गेसम्म पदमार्ग निर्माण गरिएको थियो । 

हालै निर्माण सुरु गरिएको यो पदमार्गको अन्तिम गन्तव्य बिन्दु कञ्चनजङ्घा कुम्भकर्ण वेस क्याम्पसम्म रहेको छ ।  क्रमिक रूपमा पेङ्खाङ, कुइभिर, देउराली, जलजले लामपोखरी, लाक्पे, सानो मेघु, हिवा नागी, तावा नागी हुँदै कञ्चनजङ्घा वेस क्यामसम्म पदमार्ग विस्तार गर्ने बताइएको छ । 

अनुमानित ३०० किलोमिटर दूरीको कञ्चनजङ्घा पुग्ने नयाँ पदमार्ग विस्तार विकास भए यसबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने रानीटार–९ का सुरेश राईले बताउनुभयो । विस्तार सुरु गरिएको पदमार्ग क्षेत्रमा पाँचऔले, सतुवा, विखुमालगायतका जडीबुटी, रेडपान्डा, सात प्रकारका लालीगुराँसलगायत अवलोकन गर्न पाइन्छ । 

त्यसैगरी यस क्षेत्रमा राई, लिम्बू, मगर, सुनुवार, शेर्पालगायत आदिवासी जनजातिका परम्परागत थातथलोसमेत देख्न सकिन्छ । यिनै विभिन्न जातजातिको कला, संस्कृतिबाट पनि पर्यटन प्रवद्र्धन हुने प्रसस्त सम्भावना रहेको वडा नं ९ का धनकृष्ण राईले बताउनुभयो । यस क्षेत्रको ठाउँ ठाउँमा दर्जनौँ आकर्षक पर्यटकीयस्थल त छँदैछन्, यो बाटो हुँदै यात्रा गर्दा नेपालका अधिकांश हिमाल सजिलै देख्न सकिन्छ । 

ठाउँठाउँमा जातजातिअनुसारको होमस्टे खोलेर सांस्कृतिक परिकारबाट पनि राम्रै आम्दानी गर्न सकिने स्थानीयवासी अजय राईले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!