जब सँगै पढेका साथी अभियुक्त र न्यायाधीशका रुपमा अदालतमा भेटिए

Posted on: 10 Oct, 2023

एजेन्सी | जीवनमा हामी कैयन् मानिसहरुसँग भेटि्टन्छौं अनि छुट्टिन्छौं पनि । जीवनको कुनै मोडमा भेटिएका केही मानिससँग सधैंजसो सम्पर्क भैरहन्छ भने कतिपयको साथ केवल बाल्यकालसम्म मात्रै सीमित हुन्छ । तथापि मस्तिष्कमा बाल्यकालका ती साथीहरुको याद भने रहिरहेको हुन्छ ।

सोसल मिडिया तथा इन्टरनेट बिना नै हुर्किएको पुस्ताका मानिसहरुका लागि बाल्यकालका यादहरु झनै जीवन्त हुन्छन् ।


तपाईंका पनि स्कुलमा कैयन् यस्ता साथीहरु थिए होलान् जोसँग तपाईंले बाल्यकालको निकै अनुपम समय बिताउनुभयो । तर ती धेरै साथीहरुसँग अहिले तपाईंको सम्पर्क नै छैन होला ।

यदि बाल्यकालका ती साथीहरुसँग २०, ३० वर्षपछि एक्कासी भेट भयो भने कस्तो अनुभूति गर्नुहोला ? सायद कहिलेकाहीँ त राम्रोसँग पहिचान गर्न पनि गाह्रो पर्नसक्छ ।

अझ कुनै कार्यस्थलमा फरक भूमिकामा बाल्यकालका साथीहरुबीच भेट भयो भने त झनै अनौठो परिस्थितिको सिर्जना हुनसक्छ । अमेरिकाको फ्लोरिडामा एउटा यस्तै घटना भएको भयो ।

यस कहानीका दुईजना पात्र छन्, आर्थर बुथ र माइन्डी ग्लेजर । अन्य किशोर किशोरीहरुजस्त आर्थरको सपना पनि एउटा सफल करिअर बनाउनु थियो । उनी गणित र विज्ञानमा अब्बल थिए । परिवार तथा साथीहरुसँग आफू ठूलो भएर न्युरोसर्जन बन्ने सपना बताइरहन्थे ।


उनी अमेरिकाको मियामी बीच स्थित जुन नटिलस माध्यामिक विद्यालयमा पढ्थे त्यही स्कुलमा माइन्डी ग्लेजर पनि अध्ययनरत थिइन् । माइन्डीका पनि केही सपना थिए । पहिले त उनी पशु चिकित्सक बन्न चाहन्थिन् । तर पछि वकिल बन्ने चाहना पलाएसँगै कानून पढिन् र अब्बल वकिल बनिन् ।

दुवै जनाले अफ्नो करिअरका लागि जीवनमा दुई फरक-फरक बाटो रोजे । र, दशकौं पछि उनीहरुको पुनः भेट भयो ।

माइन्डीले आर्थरलाई देख्ने बित्तिकै चिनिहालिन् । उनले भनिन्, ‘तिमी त उही व्यक्ति हौ जोसँग म फुटबल खेल्थें । तर तिमी यहाँ कसरी ?

वास्तवमा उनीहरुको त्यो भेट अदालतको इजलास कक्षमा भएको थियो । त्यहाँ माइन्डी न्यायाधीशको भूमिकामा थिइन् भने उनको अगाडि अभियुक्तको रुपमा आर्थर उभिएका थिए । अदालतको त्यो भिडियो दृश्य साँच्चिकै भावुकताले भरिएको थियो ।

आर्थरलाई जुवा तथा लागुऔषधको लत थियो । उनले उनी लुटपाटका घटना पनि संलग्न भएका थिए र प्रहरीबाट भाग्ने गरेका थिए ।

सुनुवाइ सुरु हुँदा उनले यस्तो व्यवहार देखाइरहेका थिए कि मानौं उनलाई आफूले गरेका कर्मप्रति कुनै पछुतो छैन । तर जब न्यायाधीश माइन्डीले उनीसँग प्रश्न सोध्न थालिन् अवस्था बदलियो । के तिमी नटिलस माध्यामिक विद्यालयमा पढ्थ्यौ ? भनेर माइन्डीले सोधेसँगै आर्थर डाँको छाडेर रुन थाले । उनी निकै विक्षिप्त बने ।

४९ वर्षका आर्थरका अगाडि उनकी पूर्व सहपाठी माइन्डी थिइन् । उनीहरुले विद्यालय छाडेपछि पहिलोपटक भेट भएको थियो । आर्थरको आपराधिक इतिहास निकै लामो छ र आफ्नो प्रौढ उमेर आधा त उनले जेलमै बिताएका छन् । उनी लागुऔषध तथा सट्टेबाजीको लतका कारण अपराधको दुनियाँमा प्रवेश गरेका थिए । उनको उद्देश्य नै कम समयमा धेरै पैसा कमाउनु थियो । उनी १७ वर्षको उमेरदेखि नै अपराध कर्ममा लागेर जेल पर्दै छुट्दै गरेका थिए । जसका कारण उनले विद्यार्थीकालमा सोचेको करिअर बनाउन पाएनन् ।

सन् १९८० को दशकमा आर्थरले राम्रो अंकका साथ उत्तीर्ण गरेर नटिलस स्कुल छाडेका थिए । त्यसपछि उनी मियामी बीच हाइस्कुलमा भर्ना भए र ११ कक्षासम्म पढेका थिए । अनि त्यहाँबाट पढाइ छाडेर कुलमा लागे ।

१८ वर्षको उमेर हुँदा नै उनी ठूलो चोरीको आरोपमा जेल परिसकेका थिए । उनलाई कुलत तथा अपराधको खाडलबाट निकाल्नका लागि परिवारजनले धेरै प्रयास गरे, तर सकेनन् ।

आर्थर चोरी तथा जेलबाट भागेको आरोपमा ४३ हजार डलर जरिवानाको सजायसहित जेलमा थिए । त्यो फैसला माइन्डीले नै गरेकी थिइन् । त्यसअघि उनी अर्को अपराधमा ७ महिना जेल बसेर निस्किएका थिए ।

सन् १९८८ मा २२ वर्षको उमेरमै चोरी डकैटीको अभियोगमा उनलाई २० वर्षको सजाय भएको थियो । तर १० वर्ष जेल सजाय काटेपछि उनी बाहिर निस्किए ।

अर्कोतर्फ माइन्डीले मियामी विश्वविद्यालयमा बिए र सेन्ट थोमस विश्वविद्यालयको स्कुल अफ ल बाट कानूनको अध्ययन गरिन् र सन् १९९१ मा कर कानूनमा स्नातक उपाधि हासिल गरिन् । त्यसपछि उनले वकालत सुरु गरिन् । सन् २००० मा माइन्डी न्यायाधीश बन्न सफल भइन् ।

यता जेल पर्ने तथा भाग्ने गर्दै सन् २००० मा पुनः पक्राउ परेका आर्थर सन् २०१५ सम्म जेलमै थिए । उनीहरुबीच सन् २०१५ मै अदालतमा भेट भएको थियो, न्यायाधीश र अभियुक्तको रुपमा ।

इजलास कक्षमा माइन्डीले आफ्नो पूर्व सहपाठीलाई खुंखार अभियुक्तको रुपमा आफू अगाडि पाएपछि निकै दु:खी मात्र भइनन् यस्ता धेरै कुरा गरिन् जसका कारण आर्थरले आफ्नो जीवनका धेरै वर्षहरु बर्बाद गरेको महसुस गरे । स्कुले जीवनमा आफू मेधावी विद्यार्थी रहेको लगायतका प्रसंशा माइन्डीले गर्न थालेपछि आर्थर धुरुधुरु रुन थालेका थिए ।

आफ्नै सहपाठीलाई न्यायाधीशको रुपमा पाएको १० महिनापछि उनी कानून बमोजिम जेलमुक्त भए । त्यतिबेलासम्म आर्थर निकै परिवर्तन भैसकेका थिए ।

उनको मनबाट चोरी, डकैती, लागुऔषध जस्ता अपराधको भावना हटिसकेको थियो । जेलमुक्त भएपछि उनले भनेका थिए-उनी मेरो लागि एक प्रेरणा र प्रोत्साहन हुन् । माइन्डी अविश्वसनीय छिन् । उनले अब आफू कहिल्यै अपराध कर्ममा नलाग्ने बाचा माइन्डीसँग गरे ।

परिवर्तन भएका आर्थरले किताब अध्ययन गर्न थालेका थिए र उनमा व्यवसाय गर्ने इच्छा पलाएको थियो । उनले आफ्नो जीवन पुनः सुरु गर्ने निधो गरे ।

अदालतको भिडियो सार्वजनिक भएको र आर्थर जेलमुक्त भएको ८ वर्षभन्दा धेरै समय भैसकेको छ । अहिले आर्थरको जीवनले युटर्न लिइसकेको छ । उनी एक औषधि कम्पनीमा व्यवस्थापक छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!