नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य

Posted on: 31 Jan, 2024

माघ १६, काठमाडौँ | आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९।५ ओभरमा १६९ रनमा अलआउट भयो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ तथा कप्तान देव खनालले ३५ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।


४२ ओभरको अन्तिम बलमा आउट हुनुअघि केसीले १०० बलको सामना गर्दै ६ चौका हिर्काएका थिए । त्यस्तै कप्तान खनालले ६० बलमा ३५ रन जोड्दा ओपनर अर्जुन कुमाल १४ रनमा आउट भए । अर्का ओपनर विपीन रावल २ रनमा आउट हुँदा गुल्सन झा, दीपक बोहरा, दिपेश कँडेल र आकाश त्रिपाठी समान ३ रनमा आउट हुँदा आकाश चन्द शून्य रनमै एलबीडब्लूको धरापमा परे । दुर्गेश गुप्ताले ९ रन थप्दा सुवाश भण्डारी १८ रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका रोहान दौलाहले तीन विकेट लिए । नेपाल औपचारिक रुपमा सेमिफाइनलको समिकरणबाट बाहिरिसकेको छ भने बंगलाचदेश र भारत अर्को चरणमा पुगिसकेका छन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!