श्रीलंकाले न्युजिल्यान्डलाई दियो १७२ रनको लक्ष्य

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । बेंगलौरस्थित एन. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो । 

ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिने उक्त स्टेडियममा प्रारम्भदेखि नै श्रीलंकाली खेलाडी निरिह देखिए । माथिल्लो क्रममा ओपनर कुशल परेरावाहेक श्रीलंकाका अन्य कुनै ब्याट्सम्यानले न्युजिल्यान्डका बलरहरुलाई खुलेर खेल्न सकेनन् ।  

टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको श्रीलंकाका लागि परेराले सर्वाधिक ५१ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका परेराले केवल २८ बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । 


श्रीलंकाका माथिल्ला पाँचमध्ये चार ब्याट्सम्यानले दोहोरो सँख्यामा समेत रन बनाउन सकेनन् । ओपनर पाथुम निशांका दुई रन बनाउँदै पेभेलियन फर्किए । कप्तानको भूमिकामा रहेका तेस्रो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिस पनि ६ रनको ब्यक्तिगत स्कोरमै आउट भए । 

चौथो नम्बरका ब्याट्सम्यान सदिरा समिराविक्रमा त एक रनमै आउट भए । चरिथ असलाङ्का पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । एन्जेलो म्याथ्युजले टोलीको खातामा १६ रन थपे । धनन्जय डा सिल्भा १९ रन बनाउँदै आउट भए । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा तल्लो क्रमका ब्याट्सम्यान महिश थाक्सिनाले महत्वपूणर् पाली खेले । उनले टोलीको खातामा अविजित ३९ रन थपे । लामो समय क्रिजमा सँघर्ष गरेका उनले ९१ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । दिल्सान मदुसानकाले पनि टोलीका लागि ४८ बलमा दुई चौकाको मद्दतले १९ रनको योगदान गरे । 

न्युजिल्यान्डका बलर ट्रेन्ट बल्टले तीन विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३७ रन खर्चिएका थिए । लोकी फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले पनि दुई—दुई विकेट हात पारे । टिम साउथीले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!