उद्घाटन समारोहबिनै विश्वकप क्रिकेट सुरु, पहिलो म्याचमा ईंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

Posted on: 05 Oct, 2023

असोज १८, काठमाडौँ | एक दिवसीय विश्वकप क्रिकेट २०२३ आजबाट भारतमा सुरु भएको छ । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड भिड्दैछन् । न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो ।

न्यूजिल्यान्ड भने प्रमुख तीन खेलाडीको अनुपस्थितिका कारण पहिलो म्याचमा दवावमा छ । उद्घाटन खेल अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको हो । यस म्याचमा अन फिल्ड अम्पायरका रुपमा भारतका नितिन मेनन र श्रीलंकाका कुमार धर्मसेना रहेका छन् भने टिभी अम्पायरमा अष्ट्रेलियाका पल विल्सन छन् ।


ईंग्ल्यान्डका तर्फबाट जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरु गरेका छन् । भेट्रान बलर ट्रेन्ट बोल्टले पहिलो ओभर बलिङ गर्न आएका छन् । न्यूजिल्यान्डसँग आज नियमित कप्तान केन विलियम्सन र प्रमुख बलर टिम साउथी छैनन् । उनीहरु चोटका कारण पहिलो म्याच खेल्न असमर्थ रहेका हुन् ।

कुनै औपचारिक उद्घाटन समारोहबिनै विश्वकप सुरु भएको हो । यसअघि बलिउड र टलिउडका स्टारहरु रणवीर सिंह, अरजित सिंह, तमन्नाह भाटिया, वरुण धवन, आशा भोस्ले, शंकर महादेवन लगायतले नरेन्द्र मोदी रंगशालामा बुधबार ४ देखि ७ बजेसम्म प्रस्तुति दिने भनिएको थियो । तर, टाइम्स अफ इन्डियाले विशेष सुत्रलाई उद्वृत गर्दै उद्घाटन समारोहको कुनै तयारी नगरिएको जनाएको छ ।

भारतले आफ्नो फ्रेन्चाइज लिग आइपीएलका लागि भने भव्य उद्घाटन समारोह आयोजना गरेको थियो । विश्वकप जस्तो महाउत्सवमा कुनै समारोह नराखिनुले विश्वभरका क्रिकेटप्रेमी आश्चर्यमा परेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!