श्रीलंकालाई हराउदै एक खेल अगावै भारत पुग्यो एसिया कपको फाइनलमा

Posted on: 13 Sep, 2023

भदौ २७, काठमाडौं | श्रीलंकालाई हराउदै भारत एक खेल अगावै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने हो।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ रनमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेका थिए | भारतलाई अलआउट गर्दा ५ विकेट लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै  धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

भारतका लागि बलर कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले २-२ समान विकेट लिए ।

लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३  रन बनाएको थियो । उनले ४८ बल खेल्दै  ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।

केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए भने थिलले १९ रन जोडे ।

श्रीलंकाका लागि बलर दुनिथ वेलालेजले ५ विकेट तथा चरिथ असलंकाले ४ विकेट र महेश थिक्सनाले १ विकेट लिए ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!