कतार बिरुद्ध नेपालको सहज जित

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतार बिरुद्ध ९ विकेटको सहज जित हात पारेको छ । नेपालले जितका लागि पाएको ७५ रनको लक्ष्य १०.३ ओभरको खेलमै एक विकेटको क्षेतीमा पुरा गर्दै जित हाँशिल गरेको हो ।


मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ । यूएईले अहिले बहराइनसँग खेलिरहेको छ ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

समूह ए मा ६ र समूह बी मा पाँच टिम छन्  । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ ।

नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!