नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने, खेल रद्द भए के हुन्छ?

Posted on: 03 Sep, 2023

भदौ १७, काठमाडौँ |  एसिया कप क्रिकेटमा सोमबार नेपालले भरतको सामना गर्दै छ । उक्त खेलमा सफलता हात पार्दै यी दुवै टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने दाउमा छन् । समूह ‘ए’ बाट आयोजक पाकिस्तान भने यसअघि नै ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । 

अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।  


यस्तो स्थितिमा सोमबारको खेलमा दुवै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले बिथोल्ने प्रबल सम्भावना देखिएको छ ।  

मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको स्थानमा सोमबार बिहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । त्यसैले रंगशालाको आउट फिल्ड सुक्न पनि केही समय लाग्नेछ । तर, नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । 

उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना देखाइएको छ । साँझ ६ बजेसम्म पनि वर्षाको सम्भावना २२ प्रतिशत नै देखिन्छ । त्यसपछि भने वर्षाको सम्भावना बढेर ६६ प्रतिशत पुग्ने देखिएको छ । 

त्यसैले मौसममा नाटकीय परिवर्तन नआएमा दोस्रो पालीको खेल वर्षाका कारण बिथोलिने निकै सम्भावना देखिन्छ । वर्षाका कारण खेल रद्द भए समूह ‘ए’ बाट भारत ‘सुपर फोर’ चरणमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ । यस्तो स्थितिमा तालिकामा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहनेछन् ।

यसअघि शनिबार खेलिएको पाकिस्तान र भारतबीचको खेल पनि वर्षाका कारण रद्द हुन पुगेको थियो । उक्त खेलमा भारतले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६६ रन बनायो । भारतको पाली सकिएपछि भने वर्षाका कारण खेल रद्द हुन पुग्यो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!