आईसीसी महिला टी–ट्वान्टी: बहराइनविरुद्ध नेपालको १० विकेटको शानदार जित

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौँ | आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो शानदार जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गरेको हो ।

नेपालका लागि ओपनर कविता कुँवरले अविजित १४ बलको सामना गरी तीन चौकाको मद्दतमा १७ रन  र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइलागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् । आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके ४ रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी १ रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् । 

बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए । बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले ३ विकेट, खुसी डंगोलले २ विकेट, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे ।  अब नेपालले आइतबार भुटानको सामना गर्नेछ । यस प्रतियोगितामा ११ राष्ट्रहरुको सहभागिता रहेको छ । समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् | भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!