एमबाप्पेमाथि अर्बौँको बाजी: साउदी अरब र युरोपबीच तँछाडमछाड, कहाँ जालान् एमबाप्पे ?

Posted on: 27 Jul, 2023

एजेन्सी । साउदी अरबको अल हिलालले विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको अफर गरेपछि यति बेला विश्वकप विजेता केलियन एमबाप्पे चरम दोधारमा देखिएका छन्। त्यस प्रस्तावबारे कुरा गर्न पेरिस सेन्ट जर्मन-पीएसजीले एमबाप्पेलाई अनुमति पनि दिएको छ। यसबारे एमबाप्पेले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

त्यसो त यो प्रस्तावलाई पीएसजीले स्वीकार गरेर मात्र हुँदैन, एमबाप्पे सहमत पनि हुनुपर्छ। तर पीएसजीले एमबाप्पेमाथि दबाब बढाइरहेको छ।

२४ वर्षीय यी स्ट्राइकर र पीएसजीबीचको सम्झौता अब एक वर्ष मात्र बाँकी छ। जसरी पनि एमबाप्पेलाई एक वर्षअघि क्लबबाट बिदा गरेर मोटो रकम आर्जन गर्ने दाउमा पीएसजी देखिएको छ। आगामी सिजनपछि एमबाप्पेले आफूले चाहेको क्लबमा जान सक्नेछन् र त्यसबापत पीएसजीले कुनै रकम प्राप्त गर्ने छैन।

पीएसजीले प्रिसिजन भ्रमणमा एमबाप्पेलाई टोलीमा समावेश गरेको छैन। पीएसजीका अध्यक्ष नासर अल खेलाइफीले क्लबबाट नबाहिरिए आगामी सिजन एमबाप्पेलाई बेन्चमै सीमित गर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। यस कारण पनि एमबाप्पे दबाबमा देखिएका छन्।

सन् २०१७ मा मोनकोलाई पीएसजीले एक सय ८० मिलियन पाउन्ड ट्रान्सफर रकम बुझाएर भित्र्याएको थियो। त्यसयता एमबाप्पेले पीएसजी र विश्व फुटबलमा केही विश्व कीर्तिमान बनाएका छन्।

फ्रान्सको घरेलु लिग फुटबल लिग वानमा उनी लगातार पछिल्ला पाँच सिजन सर्वाधिक गोलकर्ता रहेका छन्। गत विश्वकपमा उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए।

कहाँ जालान् एमबाप्पे ?

१९ वर्षकै उमेरमा एमबाप्पेले सन् २०१८ मा आयोजना भएको विश्वकप जितेका थिए। जसमा उनले पेलेको कीर्तिमान बराबरी गरे। गत वर्ष फ्रान्स फेरि विश्वकप फाइनल पुगेको थियो। एमबाप्पेले ह्याट्रिक गरेपनि फ्रान्स उपाधि रक्षा गर्न असफल भयो।

तर एमबाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने ५६ वर्षयताका पहिलो खेलाडी भए। तर अझैपनि एमबाप्पेको खेल जीवन अपुरै छ। उनले प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिग जित्न सकेका छैनन्। बेलोन डीअर र फिफा वर्ष खेलाडी विजेता बन्न सकेका छैनन्।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका सम्भावित उत्तराधिकारीका रूपमा हेरिए पनि यी अवार्डहरू हात पार्न नसक्नु एमबाप्पेका लागि दुर्भाग्य रहेको छ।

मेस्सीले २२ र रोनाल्डोले २३ वर्षको उमेरमा बेलोन डीअर र फिफा वर्ष खेलाडी अवार्ड दुवै जितिसकेका थिए। बेलोन डीअर र फिफा वर्ष खेलाडी अवार्ड जित्नु हरेक फुटबलरको सपना हुन्छ। व्यक्तिगत स्तरमा त्यसले विश्वकप जितेभन्दा पनि बढी महत्त्व राख्छ।

पीएसजीले युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित केलियन एमबाप्पे, नेमार र मेस्सीलाई क्लबमा जम्मा गरेको थियो। तर यी तीनै जना दुई सिजन मैदान उत्रँदा पीएसजी फाइनलसम्म पनि पुग्न सकेन। फिफा वर्ष खेलाडी वा बेलोन डीअर जित्न युरोपियन च्याम्पियन्स लिग उपाधि महत्त्वपूर्ण रहँदै आएको छ।

सन् २०१८ मा एमबाप्पे विश्व च्याम्पियन बनेपनि फाइनलसम्म पुगेको क्रोएसियाका लुका मोड्रिचलाई फिफा वर्ष खेलाडी अवार्ड दिइएको थियो। त्यस सिजन मोड्रिचले रियल म्याड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग जितेका थिए।

एमबाप्पेभन्दा एक वर्ष कान्छा नर्वेका एर्लिङ हालान्ड जर्मन क्लब बोरुस्सिया डर्टमुन्डबाट सन् २०२२ मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पुगेका थिए। गत सिजन म्यान सिटीका लागि च्याम्पियन्स लिगसहित महत्त्वपूर्ण तीन उपाधि जितेका हालान्ड अब महत्त्वपूर्ण अवार्डको दौडमा बलियो देखिएका छन्।

अब एमबाप्पेका लागि यी अवार्ड हात पार्नु महत्त्वपूर्ण हुने छ। करियरको उच्च लयमा रहेका बेला एमबाप्पेका लागि अबका केही वर्ष निकै महत्त्वपूर्ण हुनेछन्।

व्यावसायिक फुटबलमा एसिया र युरोपको फुटबलमा निकै अन्तर देखिन्छ। त्यही कारण महादेशीय च्याम्पियनहरूले प्रतिस्पर्धा गर्ने क्लब विश्वकपभन्दा युरोपियन च्याम्पियन्स लिगको चर्चा बढी हुन्छ।

उल्लेखनीय के छ भने गत वर्ष मात्र अल हिलाल क्लब विश्वकपको फाइनलसम्म पुगेको थियो। तर उपाधि भिडन्तमा स्पेनिस क्लब रियल म्याड्रिडले ५(३ गोलले हराएको थियो।

एसियाबाट त्यसअघि यूएईको अलआइन सन् २०१८ र कासिमा आन्टलर्स २०१६ मा फाइनलसम्म पुगेको थियो।

विश्वकपमा स्पेन, ब्राजिल, इङ्ल्यान्ड, इटाली र जर्मनीबाहेकका देशका क्लबले उपाधि जित्न सकेका छैनन्। फ्रान्सका फुटबल पत्रकार लिसा लेरोक्सले एमबाप्पे साउदी अरबमा जान सक्ने सम्भावना कम रहेको बताउँछिन्।

बीबीसीसँगै कुरा गर्दै लेरोक्सले भनेकी छिन्, ‘उ एउटा पुस्ताकै सर्वोत्कृष्ट खेलाडी हो भन्ने यो अफरले देखाएको छ। तर उनी जाने छैनन् (साउदी अरब)। उसका लागि पैसा मात्र ठुलो कुरा होइन।’

एमबाप्पे साउदी अरबमा गएको अवस्थामा उनले २ वटा विश्व कीर्तिमान भंग गर्ने छन्। पहिलो सबैभन्दा बढी ट्रान्सफर रकम र दोस्रो सबैभन्दा बढी वार्षिक आम्दानी। यसअघि पीएसजीले सन् २०१७ मा नेमारलाई २ सय मिलियन पाउन्ड तिरेर बार्सिलोनाबाट भित्र्याएको थियो। एमबाप्पेले गत वर्ष क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान भंग पनि गर्नेछन्। रोनाल्डोले अल नासरमा वार्षिक एक सय ७७ मिलियन पाउन्ड प्राप्त गर्ने सम्झौता रहेको छ। एमबाप्पेले अल हिलालमा वार्षिक ७ सय मिलियन युरो आम्दानी गर्न सक्ने बीबिसीले उल्लेख गरेको छ।

फ्रान्सका फुटबल विज्ञ युलियन लाउरेन्स एमबाप्पे साउदी अरब जाने सम्भावना नरहेको बताउँछन्। ‘उनी साउदी अरब जान चाहँदैनन्। पीएसजीले अनुमती दिएपनि अल हिलालसँग कुरा गर्ने पक्षमा एमबाप्पे छैनन्। त्यो कुरा अल हिलाललाई पनि थाहा छ। किनभने एमबाप्पेका लागि पैसा मात्र विषय होइन।’

गत वर्ष रोनाल्डो साउदी अरबको लिगमा भित्रिएपछि त्यहाँ युरोपमा जमिरहेका खेलाडीको आकर्षण देखिएको छ। तर यसमा समानता के छ भने अधिकांश आफ्नो करियरको अन्तिम समयतिर आइपुगेका खेलाडीहरू साउदी अरब ताकिरहेका छन्। साउदी अरबले खेलाडीमा पैसा खन्याइरहेको छ।

युरोपियन फुटबलमा जस्तो क्लबमा लागु हुने फाइनान्सियल फेयर प्ले साउदी अरबका क्लबका हकमा छैन। सरकारकै पब्लिक इन्भेस्टमेन्ट फन्डले अल इत्तिहाद, अल नासर, अल हिलाल र अल एह्लीसहित ४ वटा क्लबको स्वामित्व लिएका कारण साउदी फुटबलमा खेलाडीमाथि लगानीको समस्या छैन। साउदी क्लबले गरिरहेको एकपछि अर्को प्रस्तावले युरोपियन खेलाडीको भाउ भने बढिरहेको छ।

अहिले एमबाप्पेमाथि आएको प्रस्तावले अन्य युरोपियन क्लबहरूमाथि दबाब थप बढेको छ। युरोपका रियल म्याड्रिड, चेल्सी, बार्सिलोना, टोट्टनहाम, म्यानचेस्टर युनाइटेड एमबाप्पेलाई भित्र्याउन इच्छुक देखिएका छन्। तर एमबाप्पेले हाल पीएसजीमा वार्षिक कमाइरहेको ७२ मिलियन पाउन्ड पनि युरोपका अन्य क्लबले दिन सक्ने अवस्था नरहेको लाउरेन्सले उल्लेख गरेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!