एसिया कपको तथा आयोजकको टुङ्गो: नेपाल र भारतको खेल श्रीलंकामा, पाकिस्तानसँगको खेल उसकै मैदानमा

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | एसिया कप २०२३ को मिति तथा आयोजकको टुङ्गो लागेको छ । भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ।

एसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप हुने जनाएको छ ।

पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुने विज्ञप्तिमा उल्लेख छ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन् ।

सहभागी टीमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले ‘सुपर फोर’मा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टीमले फाइनल यात्रा तय गर्नेछन् ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो ।

गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!