सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी, अर्को पेशि असार २९ मा मात्रै

Posted on: 04 Jun, 2023

जेठ २१, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सन्दीप दक्षिण अफ्रिका पठाउने भएको हो।

यसअघि गत मङ्गलवार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशि तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् । उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ । महत्त्वपूर्ण प्रतियोगितामा सन्दीप छुट्दा नेपालका लागि महँगो पर्न सक्ने भएकाले नेपाल क्रिकेट संघले उनलाई लैजान आवश्यक पहल गरिरहेको थियो । असार २९ गतेभन्दा अगाडि पेशि नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भाेलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!