IPL: विराट कोहलीको शतकमा बैंगलोर विजयी, प्लेअफ सम्भावना कायमै

Posted on: 19 May, 2023

जेठ ५, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यस जितसंगै बैंगलोरले प्लेअफ चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । 

बिहीबार राति भएको खेलमा टस हारी पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलोरले १९.२ ओभरमा केवल २ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

बैंगलोरको जितमा विराट कोहली र कप्तान फाफ डु प्लेसिस नायक बने । टोलीका लागि कोहलीले १ सय रनको योगदान गरे भने डु प्लेसिसले ७१ रन बनाए । यी दुबै अनुभवी ब्याट्सम्यानले १ सय ७२ रनको साझेदारी गरेका थिए ।


कोहलीले ६३ बलको सामना गरी ४ छक्का र १२ चौकाको मद्दतमा १०० रन बनाए भने  डु प्लेसिसले ४७ बलको सामना गरी २ छक्का ७ चौका प्रहार ७१ रन बनएका थिए । ग्लेन म्याक्सवेल अविजित ५ र मिचेल ब्रासवेल अविजित ४ रन बनाउँदै क्रिजमा थिए ।

हैदराबादका बलर भुवनेश्वर कुमार र थंगारासु नटराजनले १÷१ विकेट लिए । 

त्यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादका लागि हेनरिच क्लासेनले सतकिय परि खेलेको थिए । क्लासेनले टोलीका लागि ५१ बलको सामना गरी ६ छक्का र ८ चौका प्रहार गरि  १ सय ४ रनको योगदान गरेका थिए । 

ह्यारी ब्रुकले अविजित २७ रन जोडेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । बैंगलोरका लागि बलर मिचेल ब्रासवेलले २ विकेट लिए ।

बैंगलोरले हालसम्म १३ खेल खेलेर १४ अंक जोडेको छ । बैंगलोरले लिग चरणको आफ्नो अन्तिम खेल ‘लिग लिडर’ गुजरात टाइटन्ससँग खेल्नेछ ।

उक्त खेल बैंगलोरको घरेलु मैदानमा मे २१ तारिखमा खेलिने छ । प्लेअफ चरणमा पुग्न बैंगलोरले उक्त खेल पनि जित्नु आवश्यक छ । 

हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । १३ खेलबाट ८ अंक जोडेको हैदराबाद तालिकामा सबैभन्दा तल छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!