नेपालले टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्ने

Posted on: 14 May, 2023

वैशाख ३१, काठमाडौँ | नेपालले एसिया क्षेत्रका लागि टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि एसियाली क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट अनुमति पाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी नोभेम्बर १ देखि १० सम्म एसियामा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले अनुमति दिएको जानकारी दिनुभयो । नेपालसँगै युएई, ओमान एसिया छनोटमा हङकङ, बहराइन र सिङ्गापुर प्रतिस्पर्धा गर्दैछन् । बाँकी दुई छनोट चरणमा प्रवेश गर्नेछन्।


सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने टोली अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् । चन्दका अनुसार प्रतियोगिताका खेल टियु क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । युएईले पनि प्रतियोगिता आयोजना गर्ने दाबी गरेको छ । नेपालले पहिलो पटक आईसीसीको यस्तो ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक अमेरिका र वेस्ट इन्डिज सन् २०२४ को विश्वकपका लागि प्रत्यक्ष छनोट भएका छन् । सन् २०२२ मा अष्ट्रेलियामा भएको अन्तिम ट्वान्टी-२० विश्वकपमा शीर्ष ८ राष्ट्र अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भएका छन् ।

यसका साथै विश्व ट्वान्टी-२० वरियतामा शीर्ष स्थानमा रहेका अफगानिस्तान र बंगलादेशले पनि टी-२० विश्वकपमा स्थान बनाएका छन् । टी-२० विश्वकपमा पहिलो पटक २० राष्ट्र सहभागी हुनेछन् । टी-२० विश्वकपमा एसियासँगै अफ्रिका र युरोपबाट २-२ टोली र अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट छनोट गरिएका १-१ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एसीसी प्रिमियर कप भएका दुई मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा छनोटका खेलहरु आयोजना गरिनेछ । चन्दले टी-२० विश्वकपको एसिया छनोटका लागि जिम्मा पाइसकेको र अन्य सम्झौताहरु हुँदै जाने बताए । साथै मैदानमा पनि सुविधाहरु थप्ने उनले बताए । आयोजनास्थलको निरिक्षणका लागि आईसीसीको टोली पनि नेपाल आउनेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!