दक्षिण अफ्रिका सिधै विश्वकपमा, आयरल्यान्डले नेपालसँगै छनोट खेल्ने

Posted on: 10 May, 2023

वैशाख २७, काठमाडौँ | आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो ।  

बंगलादेश र आयरल्यान्डबीचको उक्त खेल वर्षाका कारण रद्द भएपछि दक्षिण अफ्रिका सिधै विश्वकपमा छनोट भयो । आयरल्यान्डले भने विश्वकपमा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नुपर्ने भएको हो ।


उक्त खेल वर्षाका कारण रद्द नभएको भए आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ भित्र रहेर सिधै विश्वकप खेल्ने सम्भावना थियो । त्यो अवसर दक्षिण अफ्रिकाले प्राप्त ग¥यो । दक्षिण अफ्रिका सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा सिधै प्रवेश पाउने अन्तिम टोली बन्यो ।

हालसम्म भारत, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपका लागि छनोट भइसकेका छन् ।

एकदिवसीय विश्वकपमा छनोट हुनका लागि अब जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउने छन् । विश्वकप छनोट प्रतियोगिता आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुनेछ ।

विश्वकप छनोटमा अब नेपालसँगै जिम्बाबे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमन, श्रीलंका, अमेरिका, यूएई, वेस्टइन्डिज र आयरल्यान्डबीच भिडन्त हुनेछ । लिग ‘टू’ बाट नेपाल, स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

आगामी एकदिवसीय विश्वकपमा कुल १० राष्ट्रको सहभागिता रहने छ । आठ राष्ट्रको टुंगो लागिसकेको छ भने २ राष्ट्र जिम्बाबेमा आयोजना हुने छनोट प्रतियोगिताबाट चयन हुनेछन् । एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!