पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता

Posted on: 14 Oct, 2022

असोज २८, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।


माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजी कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । घटना साढे ४ बजेतिर घटेको हो । दुर्घटना भएको क्षेत्रमा केज बनाएर माछा पालन गरिएको छ ।

‘हामीलाई पौडिन आउँछ भनेर कायक डुंगा लिएर गएका रहेछन् । सँगै गएकी महिलाले गुहार मागेपछि बल्ल जानकारी भएको हो,’ कँडेलले भने, ‘खोजी कार्य भइरहेको छ तर फेला पर्न सकेको छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!