मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो

Posted on: 14 Sep, 2020


शान्ति सुवेदी÷पर्वत । लगातार तीनदिन देखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डको ठाउँठाउँमा पहिरो गएको छ । लोकमार्ग अन्तरण पर्वतखण्डको २७ किलोमिटरमा पहिरोले सडक अवरुद्ध बनेको हो ।

सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सडक सञ्चालनका लागि निर्माणाधिन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका इक्युपमेण्टहरु प्रयोग गर्ने तयारी गरेपनि पहिरो खसिरहेका कारण तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए । चुवा, दोविल्ला लगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले भने ।

पर्वतखण्डको २७ किलोमिटल सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले समयमा नै काम सम्पन्न गर्न नसकेका कारण सडक जोखिपूर्ण बनेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!