सुदूरपश्चिममा दुई प्रतिशत जनसङ्ख्यामा कोरोनाको परीक्षण

Posted on: 25 Aug, 2020

सिद्धराज भट्ट । भदौ ९, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ । 

पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो । सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो । पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ । 

स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ सङ्क्रमित पुगेका छन् । यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन् । यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ÷आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय सङ्क्रमित पुगेका छन् ।

हालसम्म कोरोनाका कारण कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ । देशका अन्य प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यसयता कसैको मृत्यु भएको छैन ।

 कोरोनाको सङ्क्रमण दर भने निरन्तर बढ्दो छ । सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको झण्डै ८४ प्रतिशत हो । 

समुदायमा फैलिने जोखिम बढ्दै 

पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्न थालेसँगै रोकथामको प्रयासस्वरूप कैलाली र कञ्चनपुरमा हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहाडका कतिपय स्थानीय तहहरू ‘सिल‘ गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाल फाटफुटरूपमा समुदायस्तरमा कोरोना देखिन थालेको भए पनि रोग समुदायस्तरमै फैलिइसकेको छैन, ‘लोकल ट्रान्समिसन‘को रूपमा देखिएको छ ।” भारतलगायतबाट भित्रिने नागरिकलाई क्वारेन्टिनमा बसाउँदा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना गर्न गराउन भएको कमीकमजोरी, क्वारेन्टिनहरू अव्यस्थित भएको र नागरिकहरूले पनि सतर्कता तथा सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । 

भारतबाट भित्रिने नागरिकलाई हाल स्थानीय प्रशासनको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धितकै घर पठाउने गरिएको छ । होम क्वारेन्टिनमा बसेका व्यक्तिको स्वास्थ्यमा केही समस्या भएपछि मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ । प्रदेशमा गौरीफण्टा र गड्डाचौकी लगायतका सीमा नाकाबाट नेपाल भित्रिने क्रम अझै रोखिएको छैन । पछिल्ला दिनमा लक्षणसहितका सङ्क्रमित फेला पर्न थालेको भए पनि यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन ।

दैनिक जाँचको दायरा बढ्दै

सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ । यद्यपि सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ ।

प्रदेश सरकारको निर्णयबमोजिम सेती प्रादेशिक अस्पताल धनगढी र डोटी जिल्ला अस्पतालमा पिसिआर मेसिनको व्यवस्थासहित नयाँ प्रयोगशाला सञ्चालनमा आइसकेको छ । बैतडी जिल्ला अस्पतालमा पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको सहयोगमा डडेलधुरामा समेत पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोनाका कारण जटिलता उत्पन्न हुने अवस्थाका विरामीलाई राख्नुपर्ने व्यवस्थाका लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । “२० वटा भेन्टिलेटर खरिद प्रक्रियामा छन्”, मन्त्री सुवेदीले भन्नुभयो, “सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा गरी १८ वटा आइसियुको व्यवस्था भइसकेको छ ।” रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!