राप्तीमा बेपत्ता बोहराको खोजी जारी

Posted on: 26 Jul, 2016

साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए । अन्यलाई स्थानीयले उद्धार गरेपनि त्रिपुर नगरपालिका– ९ हापुरका बोहरा भने बेपत्ता भएका हुन । 

बेलुकी ६:४५ बजेतिर उक्त घटना भएको थियो । बेपत्ता बोहराको अमेलिया, रिहार र चंगुवा चौकीबाट गएको प्रहरीको टोलीले खोजी कार्य जारी राखेपनि फेला नपरेको गाविस सचिव तुलसीराम खड्काले जानकारी दिएका छन् । 

खसीबोकाको किनबेच गर्दै आएका बोहरासहितको टोली खांग्राबाट आउँदै गर्दा डुङ्गा डुबेको हो । क्षमताभन्दा धेरै लोड भएपछि डुङ्गा डुबेको अनुमान गरिएको छ । सतवरीया र राजपुर जोड्ने स्थानमा पुल नहुँदा दुईवटा डुङ्गाले मानिसलाई वारपार गराउँदै आएका छन् । स्थानीयले नै वार्षिकरुपमा अन्नपात दिएर बोटेलाई खटाएका छन् । 

रोल्पा जिल्ला जैलीपोखरी घर भई हाल त्रिपुर–९ हापुर बस्दै आएका बेपत्ता बोहराको खोजीका लागि रोल्पाली सेवा समाजको टोली पनि गएको छ । समाजका अध्यक्ष मदनकुमार वलीको नेतृत्वको १० जनाको टोलीले प्रहरीसँगै बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!