दाङमा एक बर्षमा साढे ३४ हजार गाडी कारवाहीमा, ७१ को मृत्यु १५३ घाईते

Posted on: 18 Jul, 2016

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हजार ७ सय ३७ वटा गाडिका चालक तथा धनीलाई कार्वाही गरिएको जानकारी दिएको हो ।

     उक्त कार्वाहीबाट एक करोड १४ लाख १२ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो बर्षमा ४१ हजार ३ सय सवारीका चालक तथा धनी कार्वाहीमा पर्दा एक करोड ५ लाख ४ हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । दाङमा सरदर ५० देखी ९० वटा गाडिहरु दैनिक ट्राफिक नियम बिपरित चलेकै कारण कार्वाहीमा पर्ने गरेका छन् ।

मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने ६ सय ५८ जना, सिटबेल्ट नबाध्ने १ सय १, क्षमता भन्दा धेरै यात्रु र लोड बोक्ने ३ हजार ३ सय ९२ र गाडि चलाउदै गर्दा मोवाईल फोनमा कुरा गर्ने ४ जना चालकलाई कार्वाही गरिएको सिंहले बताए । ट्राफिक सचेतनाका लागि प्रहरीले सडक देखी गाउँ र बिद्यालय सम्म कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तर पनि अझै नागरिकहरु लापर्वाही गर्ने गरेको प्रहरी बताउछ । एक बर्षमा एक सय ८ वटा विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

       यसैविच बितेको एक बर्षमा दाङमा १ सय १२ वटा सवारीका साधन दुर्घटनामा परेका छन् । जसबाट ७१ जनाको मृत्युभएको छ भने १ सय ५३ जना घाईते भएका छन् । अघिल्लो बर्षमा १ सय ३५ वटा दुर्घटना हुदा ५४ जनाको मृत्युभएको थियो । दुर्घटनामा सबैभन्दा धेरै चालककै लापर्वाहीले ५२ वटा दुर्घटना भएको देखिएको छ । यस्तै ४२ वटा तिब्रगति, ओभरटेक ३, पैदल यात्रुको गल्ती ६, ओभरलोडका कारण ३ वटा गाडि दुर्घटनामा परेका छन् । सवारी दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा सिंहले जोड दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!