बाग्लुङका चार स्थानीय तहद्वारा विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

Posted on: 03 Jun, 2019

जेठ २० बलेवा । बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् ।  बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् । 

स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । योजनाले उद्दार कर्ताको क्षमता विकास गर्ने उद्देश्य समेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताउनुभयो । चारवटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्दार कार्यदल समेत बनाइएको छ । 

हरेक वडामा ११ देखि १७ जना सम्मको व्यवस्थापन समिति र उद्दार कार्यदल बनाएर आवस्यक सामाग्री पनि वितरण गरिएको छ । “ती समूह र कार्यदलले प्रारम्भिक रुपमा काम पनि गरिरहेका छन्”, कोइरालाले भन्नुभयोे, “सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्दार समितिहरु बनाउने तयारी छ ।” 

कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालीम र सामाग्री दिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन बनाएर कार्यान्वयनमा ल्याएका छन् । गोर्खा भूकम्पपछि सरकारले विधेयक मार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो । 

गत वर्ष ऐन समेत आएकोले अब हरेक वडातहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टा सम्म घटनास्थल पुगेर गरिने खोजी र उद्दार देखि एक महिना सम्ममा पुनस्र्थापना, राहत तथा अन्य व्यवस्थापन सहितका काम समावेश छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!