दाङमा चारवटा नगरपालिका थपिदै

Posted on: 01 Apr, 2016
सन्तोषकुमार गुप्ता, चैत १९, दाङ । दाङमा चारवटा नगरपालिका थपिने भएका छन् । जिल्लाका क्षेत्रनम्वर १, २, ४ र ५ मा एक–एकवटा नगरपालिका थपिने भएका हुन् । चारवटा नगरपालिका रहेको दाङमा गढवा, राप्ती, बबई र हापुरे नगरपालिका निर्माणका लागि मन्त्रालयमा पत्राचार गर्ने तयारी भएको जिविसले जनाएको छ । जिविस वोर्ड प्रतिनिधि एवं फोरम लोकतान्त्रिकका जिल्ला सचिव कुलबहादुर घर्तीले हिजो सम्पन्न बोर्ड बैठकले कोइलावास, गढवा र गंगापरस्पुर गाविसलाई मिलाएर गढवा नगरपालिका बनाउने र त्यसको केन्द्र गढवालाई बनाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार हाँसीपुर, लालमटिया र सिसहनियाँ गाविसलाई मिलाएर राप्ती नगरपालिका बनाउने र त्यसको केन्द्र लालमटियालाई बनाउने निर्णय जिविस बोर्डले गरेको छ । त्यस्तै मानपुर, बिजौरी, डुरुवा र ढिकपुरको केही भागलाई मिलाएर बबई नगरपालिका बनाउने र त्यसको केन्द्र मानपुरको गौरीडाँडालाई बनाउने निर्णय भएको छ । त्यस्तै बागमारे, पञ्चकुले र पुरन्धारालाई मिलाएर हापुरे नगरपालिका बनाउने र त्यसको केन्द्र हापुरेलाई बनाउने निर्णय भएको घर्तीले जनाउनुभयो । यसपूर्व दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका गरी चारवटा नगरपालिका रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!