दलित समुदायमा जागरण ल्याउन घरदैलो अभियान

Posted on: 23 Dec, 2015

पुस ८, दाङ । दलित वस्तीमा जागरण ल्याउनका लागि सौडियारमा घरदैलो अभियान थालिएको छ । दलित सञ्जाल सौडियारको आव्हानमा यस्तो अभियान थालिएको हो ।

गाविसले सञ्चालन गरेको पूर्ण सरसफाई अभियान, बालमैत्री स्थानीय शासन तथा लैंगीक हिंसा न्यूनीकरण अभियानका बारेमा दलित समुदायलाई सचेत बनाउन अभियान थालिएको सञ्जालका अध्यक्ष अनिता नेपालीले जानकारी दिनुभएको छ ।

दलित समुदायको बस्ती रहेका प्रत्येक वडाका टोल टोलमा पुगेर शौचालयको प्रयोगको अवस्था, घर आँगनको सरसफाई, आनिबानी परिवर्तनको अवस्था, आर्थिक अवस्था, बालबालिकालाई गर्ने व्यवहार, मदिरा सेवनलगायतका विषयमा जानकारी लिई उनीहरुलाई सकारात्मक बाटोमा लाग्नका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा दलित वस्तीहरुमा शौचालयको प्रयोग कम हुन थालेको, शौचालयमा दाउरा तथा पराल राख्ने गरेको, बालबालिकालाई नियमित विद्यालय नपठाउने जस्ता गुनासो आएपछि सञ्जालले आफै नेतृत्व गरेर अभियान चलाइएको नागरिक सचेतना केन्द्रका संयोजक गोमा नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलितहरुको बाक्लो वस्ती रहेको वडानम्वर ६ को धौरेलीडाँडा, ९ नम्वरको कनरिया, ५ नम्वरको कोरीडाँडा, ४ नम्वरको फचकपुर, करैष, बचई सोता, ३ नम्वरको लखवार, १ नम्वरको अघरा तथा चैनपुरका प्रत्येक घरघरमा पुगेर सचेतनाको अभियान चलाइएको छ ।

पहिलो चरणमा शौचालय प्रयोग तथा सफा नराख्नेलाई सम्झाइएको र अर्को पटक पनि अवस्था नसुधारेमा जरिवानाको व्यवस्था समेत गरिने उहाँले बताउनुभयो । समाजमा दलित समुदायलाई फोहोरी, बढि मदिरा सेवन गर्ने, बालबालिकालाई दुव्र्यवहार, श्रीमान र श्रीमती बीच झगना गर्ने भनी आरोप लाग्ने गरेकाले त्यसलाई सुधारेर असल समुदायको रुपमा चिनाउन घरदैलो अभियान चलाइएको सञ्जालका सदस्य ममता बादीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!