हत्या भएको १४ वर्षपछि काजकिरीया

Posted on: 23 Dec, 2015

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । ४ वर्ष पहिला हत्या गरिएका रुकुमका चन्द्रबहादुर खत्रीको दाङमा अन्तिम दाहसंंस्कार गरिएको छ ।

सशस्त्र युद्धको समयमा २०५८ साल पुस ७ गते तत्कालिन नेकपा माओवादीले हत्या गरेका झुला गाविस ३ भेराखेतका खत्रीको कुसको पुत्ला वनाएर सोमबार फुलबारी गाबिसमा अन्तिम दाहसंस्कार गरी काजकिरीया थालिएको छ ।

पार्टीलाई चन्दा नदिएको, सहयोग नगरेको, नेपाली काँग्रेस नछोडेको लगाएतका आरोप लागेका खत्रीलाई रातको समयमा अपहरण गरि जंगलमा लगेर हत्या गरिएको थियो । हत्या गरेको समयमा माओवादीले काजकिरिया गर्न नदिएका कारण आफुहरुले काजकिरिया नगरेको छोरा बसन्त खत्रीले जानकारी दिनुभयो । नेपाली काँग्रेसका गाउँ इकाइ कमिटि सभापति र गाविस उपाध्यक्ष समेत भएका खत्रीलाई धेरै पटक माओबादीले कुटपिट गरेको परिवारले जनाएको छ ।

श्रीमानको हत्या, जेठो छोरालाई बेपत्ता पारेसंगै सम्पुर्ण सम्पत्ती माओवादीले कब्जा गरेपछि आफु नावालक छोराछोरीलाई लिएर दाङ आएको शसिली खत्रीले वताउनुभयो । जेठो छोरा वसन्त खत्रीलाई पनि २०५६ साल वैशाख १४ गते घर वाटै अपहरण गरि वेपत्ता पारिएको थियो ।

वेपत्ता पारिएपछि माओवादीकै नजरवन्द बाट उम्कन सफल बसन्तले धेरै वर्ष भारतमै मजदुरी गरेर घर फर्कनुभएको छ । खत्रीको परिवारका अनुसार दाङ आइ सकेपछि पनि छोरा घर आउने अवस्था नभएको र शान्ति वार्ता पछि सवै परिवार एकै ठाउँमा नभएका कारण काजकिरीया लम्बिएको परिवारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!