दाङमा बुहारी ससुराको किरिया बसिन्

Posted on: 19 Dec, 2015

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागवत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका–१९ निवासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणी पण्डितलाई वैदिक परमपरा अनुसार हिजो बबई नदीको उरहरी घाटमा दागवत्ती दिएकी हुन् । बिहीबार साँझ ६५ वर्षको उमेरमा निधन भएका ससुरालाई दागवत्ती दिएकी बुहारी सावित्रा, शुक्रबारदेखि नै कोरा बारेर छोराजस्तै किरिया समेत बसेकी छिन् । सावित्राका श्रीमान असोक पण्डित हाल रोजगारीका शिलशिलामा मेलेसीयामा छन् । विगत ५ वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार गर्दै आएकी सावित्राले समाजमा जरो गाडेर रहेको कुरिती कुसंसकारलाई चिर्नका लागि दागबत्ति दिएर क्रिया बसेको भन्दै व्यवहारमा कार्यान्वयन गर्न चुनौतिपूर्ण पनि रहेको प्रतिकृया दिएकी छन् । समाजमा आफूलाई देखेर कतिपय मानिसहरु मुखामुख गरेर कानेखुसी गर्ने गरेको भन्दै छोरासरह बुहारीले पनि काम गर्न सक्छन् भन्ने सन्देश आफूले दिन सकेकोमा गर्व लागेको बताइन् । बुहारीले सयौं मालामीका बीचमा ससुरालाई दागवत्ती दिएर किरिया बसेको दाङमा यो पहिलो पटक हो । एक मात्र छोराका बाबु शेषमणीकी श्रीमतीको ५ वर्ष अघि निधन भइसकेको थियो । महिलामा चेताको वृद्धिसँंगै दाङमा पछिल्लो समय फाट्फुट् रुपमा एकाध ठाउँमा महिलाहरु मलामा जान थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!