झापामा वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान

Posted on: 30 Aug, 2018

भदौ १४, भद्रपुर | डिभिजन वन कार्यालय झापाले वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गरेको छ । 

आर्थिक वर्ष २०७४÷०७५ मा जङ्गली हात्तीका कारण ज्यान गुमाएका तीन जनालाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति बुधबार हस्तान्तरण गरिएको हो । वन्यजन्तु क्षतिबापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालको परिवारलाई सो राहत दिइएको हो । 

त्यसैगरी डढेलोबाट रोकथाम तथा हरियाली निर्माण गरेबापत उत्कृष्ट सामुदायिक वन प्रथम कमलधाम रामपोखरी वन, द्धितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताउनुभयो । सोही अवसरमा उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदीप राजवंशी र लोकबहादुर बुढाथोकी सम्मानित हुनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!