होलीकै दिन बिदा दिन झापालीद्वारा आग्रह

Posted on: 02 Mar, 2018

फागुन १८, भद्रपुर | सरकारले अघिल्लो दिन नै होली पर्व मनाउन दिएको सार्वजनिक बिदाको विषयमा झापाली जनताले दुःख व्यक्त गरेका छन् । 

वर्षौंदेखि तराईमा फागू पूर्णिमाको प्रतिपदाका दिन अर्थात् पहाडमा अघिल्लो दिन र तराईमा दोस्रो दिन हाली पर्व मनाउँदै आएकामा गएको वर्षदेखि झापालाई पहाडकै जिल्लामा गाभेर पहिलो दिन नै सार्वजनिक बिदा दिन थालेको हो । 

बिहीबार होली भनिए पनि आमनागरिकले होली पर्व मनाउन उत्साहित देखिएन भने आज बिहानैदेखि युवायुवती होली पर्व मनाउनमा व्यस्त देखिन्छन् । 

रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाउँदै छन् भने बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री आज बढेको पाइएको छ । 

तराईमा आज होली भएको तर झापामा आज सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिन्छ । कार्यालय खुला भए पनि सदरमुकामभन्दा बाहिरबाट आउने कर्मचारी कार्यालयमा देखिँदैनन् भने सेवाग्राहीको पनि उपस्थिति देखिँदैन । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!