गाउँमा डोजर पुर्याउने चालकलाई स्थानीयद्वारा फूलमालाले स्वागत

Posted on: 27 Feb, 2018

फागुन १५, कालिकोट । गाउँमा डोजर पुर्याउने चालकलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् । 

पचालझरना गाउँपालिकाको वडा न.१ सिकुमा सडक निर्माणका लागि कर्णाली नदी पार गरेर गाउँमा डोजर पु¥याइएपछि स्थानीय खुशी भएका हुन् ।


विकट बस्तीमा डोजर पुगेपछि वडा न. १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेसहितका स्थानीयले डोजर चालकलाई फुलमालाले स्वागत गरेका छन् । स्थानीय कालीबहादुर ऐडीका अनुसार तीन सयको हाराहारीमा उपस्थित भएका स्थानीयले आफुहरुको गाडी चढ्ने रहर पुरा हने भन्दै चालकलाई स्वागत गरेका हुन् ।

स्थानीय ७९ वर्षका धन्नाम खड्काले गाँउमा डोजर आउँदा पनि आफुहरुलाई  गाडी पुगेर यात्रा गरेको महसुस भएको बताए । 

उनले सिकुजस्तो विकट ठाउँमा सडक खन्न्न डोजर आउँदा छिटो गाडी पुग्ने आशा पलाएको बताए । पचालझरनाको मुख्यद्धारका रुपमा रहेको उक्त सडक यसै वर्ष गाउँपालिकाको एक करोड रकमले दुई किलोमिटर सडकको ट्रयाक खोल्ने तयारी गरेको वडा अध्यक्ष रत्नलाल न्यौपानेले बताए ।

सिकुको भात्तडीबाट डोजर सिकु पुगाएको र बुधबार सडकको औपचारिक उद्घाटन गरिने अध्यक्ष न्यौपानेको भनाई छ । अहिले पचालझरना गाउँपालिकामा कोटिला हुँदै नानीकोटसम्मका लागि सडक निर्माणका लागि डोजरले काम शुरु गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!