कालिकोटमा किशोरीहरुलाई महिनावारी सरसफाई सम्बन्धी तालिम

Posted on: 29 Dec, 2017

पुस १४, कालीकोट । किशोरीहरुका लागि महिनावारी सरसफाई सम्बन्धी तालिम  र प्याड वितरण गरिएको छ ।  किशोरीहरुका दिन नेपालले साविकका मुम्रा र सिपखाना गाविसमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको हो । महिनावारी सरसफाई कार्याक्रम अन्तर्गत जिल्लाका मुम्रा र सिपखाना गाविसका बिभिन्न विद्यालयहरुलाई लक्षित गरी ७ वटा स्थानमा तालिम तथा २५ सय बढी प्याडहरु वितरण गरिएको महिनावारी सरसफाई कार्याक्रमका कार्यक्रम संयोजक लिला सिम्खाडाले बताईन् ।

उनले मुम्रा र सिपखाना गाविसका विद्यालयहरु कालिका आधारभुत विद्यालय, मोतीराम मावि, प्रकाश आधारभुत बिद्यालय, सुन्दर आधारभुत विद्यालय लगायतका ७ वटा स्थानमा १० बर्षदेखी १८ बर्षसम्मका किशोरी तथा १८ बर्षदेखी ४५ बर्षसम्मका महिलाहरुलाई उक्त तालिमसहित प्याड वितरण गरिएको जानकारी दिईन् । तालिममा महिलाहरुले महिनावारी भएको समयमा सरसफाई कसरी गर्ने, महिनावारीको समयमा आत्मरक्षा कसरी गर्ने, मानव बेचबिखनबाट कसरी जोगिने लगायतका बिषयहरुमा जानकारी गराईएको छ ।

महिनावारीको समयमा सरसफाई नभएर महिलाको स्वाथ्यमा गम्भीर समस्या देखिने भएकाले महिलाहरुलाई यस बिषयमा सचेत गराउन यस कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक लिला सिम्खाडाको भनाई छ । किशोरीहरुका दिन नेपालको सहयोगमा यही पुस ४ गतेबाट लागू भएको महिनावारी सरसफाई कार्याक्रम हाललाई ६ हप्तासम्म संचालन हुने र पछि थप गरेर जिल्ला भरी लागू बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!