पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

Posted on: 29 Dec, 2017

पुस १४, कालीकोट । जिल्लाको विकट मानिने पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मौषम परिवर्तनसंगै पलातामा रुगा खोकी, ज्वरोका बिरामीहरु बढेपछि घुम्त िशिविरमार्फत स्वास्थ्यकर्मी परिचालन गरिएको हो । त्यहाँका मौषमी रुघा खोकीले प्रकोपको रुप लिन नदिन शिविरमार्फत टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

पलाता गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु घुम्ती शिविर मार्फत टोलटोलमा परिचालन गरिएको गाउँपालिका स्वास्थ्य सह–संयोजक बिनोदकुमार न्यौपानेले जानकारी दिए । चिसो बढेसंगै मौषमी रुघा, खोकी र ज्वरोका बिरामीहरु बढेपछि नियन्त्रणका लागि एक हप्ते घुम्ती शिविरमार्फत टोल टोलमा स्वास्थ्यकर्मी पठाईएको उनले जानकारी दिए । पलाता गाउँपालिकाका स्वास्थ्य संयोजक हिमाल संज्यालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण बमको प्रमूख आतिथ्यतामा बैठक बसी स्थलगत रुपमै मौषमी रोग नियन्त्रणका लागि औषधिसहित स्वास्थ्यकर्मी खटाईएको उनले बताए ।

पलाता गाउँपालिका अन्तर्गत साविकको धौलागोह गाविसमा अहेव रघुजन बमको नेतृत्वमा पाँच सदस्य टोली, खीन गाविसमा अहेक कुम्मप्रसाद पाण्डेको नेतृत्वको पाँच सदस्य टोली र थिर्पु गाविसमा अहेव हंशराज भण्डारीको नेतृत्वमा पाँच सदस्य टोलीलाई औषधिसहित गाउँ पाठाइएको बताइएको छ । ‘पलाता गाउँपालिका अन्तर्गतका साविकको तीन वटा गाविसमा गरी अनुमानित ३ सय जना स्थानीय बिरामी परेका छन्’ न्यौपानेले भने, ‘मौषमी रुघा, खोकी र ज्वरोले संक्रमित भएको अनुमान गरिए पछि त्यसले प्रकोपको रुप लिन नदिन घुम्ती शिविर चलाइएको हो ।’

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलातामा देखिएको मौषमी रुघा, खोकी र ज्वरो नियन्त्रणका लागि जनताको घर घरमा गएर घुम्ती शिविरमार्फत उपचार गरिने बताए । उनले चिसोको समयमा बढी जसो बालबालिका र बृद्धबृद्धाहारुलाई मौषमी रोगको समस्याले सताउने भएकाले उनीहरुको सहजताका लागि समेत शिविर सञ्चालन भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!