हिमालमा जाडो बढेपछि बेँसीतिर

Posted on: 05 Dec, 2017

मंसिर १९, कालिकोट । कर्णालीका उच्च हिमाली भेगका मानिसहरु हुम्ला, जुम्ला र मुगुका स्थानीय चिसो छल्न बेँसीतिर झर्न थालेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गरेर उनीहरु चिसो छल्न बेसीँतिर झरेका हुन् । कर्णालीका उच्च हिमाली भेकमा हिउँ पर्ने जाडो हुने हुँदा त्यहाँका स्थानीयहरु जाडो छल्न आफ्ना वस्तु भाउसहित औलतिर झरेका छन् ।

बसाइँसराइका क्रममा जुम्ला, हुम्ला र मुगुका हिमाली बस्तीका मानिसहरु भेडा, च्यांग्रा, खच्चड र गाईगोरु लिएर कालिकोट हुँदै दक्षिणी अछाम र दैलेखमा जाने हुम्लाका तातोपानी गाउँपालिकाका कम्बर रोकायाले बताए । ‘हिमालमा हिउँ पर्छ, जाडो हुन्छ, भेडा र वस्तुभाउ चराउन ग्राहो हुन्छ’ उनले भने, ‘त्यसैले सधँैका वर्षझैँ जाडो छल्न हामी औलमा झर्ने गरेका छौं ।’


हिमाली बस्तीका जनजातीहरु र अन्य समुदाय वर्षको चार महिना उत्तरी भेगमा पर्ने चीनतिर जाने गर्दछन् भने चिसो लागेपछि बेँसी झर्ने गर्ने गरेको मुगु खत्याड गाउँपालिका नरबहादुर कार्कीले बताए । ‘वर्षायाममा भेडा च्यांग्रासहित उत्तरी चीनमा जाने गरेका छौं’ उनले भने, ‘अहिले भने चिसो छल्न दक्षिणको अछाम र दैलेखमा जान लागेका छौं ।’

त्यस्तै, हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगरका बासिन्दा पनि जाडो छल्न भेडा, च्याग्रा, घोडा, खच्चड गाई, गोरु ल्याएर बेँसीतिर झरेका हुम्लाका नरबहादुर शाहीले बताए । ‘हुम्लाका धेरै मानिसहरु जाडो छल्न औलमा झरेका छन्’ उनले भने, ‘औलमा झरेपछि व्यापार पनि हुने जाडो पनि छलिने गरेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!