खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु

Posted on: 14 Nov, 2017

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको खोटाङमा ज्यान गएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै आएकाबेला जंगलमा दाउरा खोज्नेक्रममा अरुले लडाएको मुढाले हिर्काउँदा घाईते भएका दिपकको मंगलबार मृत्यु भएको हो । ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाईते भएका दिपकको उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा जयराममा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

उता, भान्छा कोठाबाट सल्किएको आगोले घरमा आगलागी हुंदा ठूलो क्षति भएकोे छ । भान्छाबाट सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका भीमबहादुर मगरको दुई वटा घरमा आगलागी भएको हो ।

आगोले मगरको दुई वटा घर, गोठ, २ लाख ११ हजार र केही सुनचाँदी समेत जल्दा अनुमानित ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी तथा स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएको प्रहरी चौकी अर्खौलेले जनाएको छ । आगलागीवाट मानविय क्षति भने भएको छैन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!