कालिकोटमा साँझको सात बजेपछि झ्याप हुन प्रतिवन्ध

Posted on: 06 Nov, 2017

दलसिंह गिरी/कार्तिक २०, कालिकोट । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मदिरा बिक्रि वितरणमा रोक लगाउने भएको छ । 

जिल्लामा अवैध मदिराको कारोबार बढेको भन्दै नियन्त्रण गर्ने स्थानीय प्रशासनले जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले जिल्लामा अवैध मदिरा नियन्त्रण गर्ने र इजाजत लिएर मदिरा बिक्रि गरीरहेकाहरुलाई अर्को व्यवस्था नभएसम्म बेलुका सातबजेदेखि बिक्रि र सेवनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउने सबै निकायसंग समन्वय गर्ने निर्णण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दल र तिनका उम्मेद्वारहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न जिम्मेवार बनाउने तथा आचारसंहिता उलंघन भए कानून अनुसार प्रक्रिया बढाउने लगायतका निर्णय गरेको छ । 

यसैबीच कालिकोटका ६८ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कायम रहेका ९९ सय मतदानस्थल मध्ये ६८ मददानस्थल अति संवेदनशिलको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए । उनका अनुसार २ वटा सामान्य र २९ वटा मतदान केन्द्रलाई  संवेदनशिलको सूचीमा राखिएको छ । 

पत्रकार संगको भेटघाट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरेले कालिकोटमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायको जनशक्ति एकीन हुन नसकेको बताए । उनले निर्वाचनका लागि सशस्त्र प्रहरी, म्यादी प्रहरी, नेपाली सेनालगायतका सुरक्षा निकाय परिचालन हुने जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!